काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक आज पनि बस्दै छ । पदाधिकारीको टुंगो लगाउन बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकबाट पदाधिकारीलाई पूर्णता दिने तयारी माओवादीको छ ।
शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो । महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।
महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया