गाेरखा। गोखराको प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटबाट गोरखा दरबारसम्म म्याराथन दौड हुने भएको छ । ‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ भदौ २५ गते लिगलिगकोट-सिरानचोक-गोरखा दरबार खुला म्याराथन दौड हुने भएको हो ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो लिगलिगकोटबाट सुरु हुने दौड चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेपेटार,पस्लाङ चौतारो हुँदै ४० किलोमिटर पूरा गरी गोरखा दरबारको हनुमान भञ्ज्याङमा पुगेर टुङ्गिने गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले बताए ।
चार सय ६३ वर्ष पहिले लिगलिगकोटका राजा द्रव्य शाहले गोरखा राज्यमा राज्यभिषेक गरेको दिनको स्मरणमा उनले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर २०७६ सालदेखि म्याराथन सुरु गरिएको थियो ।
प्रतियोगितामा सहभागी हुन चाहनेले तीन वटै पालिका अथवा रिपुमर्दन गणमा भदौ २० गतेसम्म नाम दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख र तृतीय पुरस्कारको राशी ७५ हजार रुपैयाँ छ ।
प्रतिक्रिया