ताप्लेजुङ। हिमाली क्षेत्रबाट विभिन्न सामाग्री निकासी गर्न राजस्व सङ्कलनका लागि स्थापना भएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ मा रहेकाे ओलाङचुङगोला भन्सार कार्यालय चार वर्षदेखि बन्द रहेको छ ।
भन्सार कार्यालयमा एक खरिदार र एक कार्यालय सहयाेगी गरी दुई जनाको दरबन्दी भए पनि रिक्त रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताए । कोरोना सङ्क्रमण सुरु हुनुभन्दा दुई वर्ष अगाडिदेखि नै बन्द रहेको भन्सार कार्यालयमा तीन वर्ष देखि कर्मचारी नहुँदा पनि खाेलाउनका लागि सम्बन्धित निकायबाट पहल भएको छैन । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार यस कार्यालयले चार वर्ष अगाडि १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेकाे थियाे । कार्यालयको खर्च भने १७ लाख ३५ हजार रुपैयाँ भएकाे थियाे ।
फक्ताङलुङ ७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार चार वर्षअघिसम्म चीन र नेपाल दुवैतर्फ ठूलो परिमाणमा जडीबुटी, चौपाया र तयारी सामान आयात/निर्यात हुने गरेकाे थियाे । तर काेराेनाका कारण तीन वर्षदेखिकाे चीनकाे नाका बन्द भएकाले काराेबार नभएकाे र भन्सार कार्यालय पनि बन्द भएको हाे ।
ओलाङचुङगोला हुँदै टिपताला नाकाबाट पूर्वका ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा र भोजपुरसम्मको जडीबुटीलगायत चौँरी, गलैँचा, राडीपाखी चीन निर्यात हुन्छ । चीनको सीमा क्षेत्र नजिक पर्ने ओलाङचुङगोला सदरमुकाम फुङलिङबाट गाडीमा एक दिन र त्यसपछि पैदल एक दिन हिँडेर मात्र पुग्न सकिन्छ ।
अहिले नाका बन्द भएकाले कर्मचारीको खासै आवश्यक नभएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताएका छन्। यद्यपि कर्मचारीकाे व्यवस्थाका लागि सम्बन्धित निकायमा पहल गरिने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया