काठमाडौँ। हराएको नागरिकतालाई दुरुपयोग गर्दै कम्पनी दर्ता गरी ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको निरज पाण्डेयको नागरिकता दुरुपयोग गरेर आरोपीहरुले काठमाडौंको ज्ञानेश्वरमा कम्पनी अफिस खडा गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भक्तपुरको थिमी घर भएका प्रदिप कर्माचार्य उर्फ सुरेश, मुगु घर भएका २४ वर्षीय विशाल कार्की र मुगुकै खत्याड गाउँपालिका-८ घर भएर अहिले बुढानिलकण्ठ बस्ने २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।
आरोपीहरुले कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७८ मंसिरमा निरज पाण्डेयको नाममा ‘एभरेष्ट लिंक इन्टरनेशनल एजुकेशन प्रालि’ नामको कम्पनी खोलेर निरजकै नाममा बैंक खाता समेत खोलेर ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
उनीहरुले रसिया पठाउने प्रलोभन देखाएर ठगी गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले जानकारी गराएका हुन् । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको जनाएको छ ।
प्रतिक्रिया