काठमाडौँ। बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन भएको छ । साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार रु। तीन लाख ३९ हजार पाँच सय ५६, दोस्रो सोमबार रु तीन लाख १८ हजार तीन सय ३२, तेस्रो सोमबार रु तीन लाख सात हजार १३, चौथो सोमबार रु चार लाख ६१ हजार चार सय २३ र पाँचौँ तथा अन्तिम सोमबार रु चार लाख ६८ हजार नौ सय २९ भेटी सङ्कलन भएको जानकारी दिए ।
“साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा भेटी गन्ने गरिएको छ”, उनले भने, “भेटी सार्वजनिक गर्न थालिएसँगै मन्दिरको आम्दानी पनि बढेको छ ।” साउनमा एक लाख २५ हजार भक्तजनले दर्शन र पूजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार संस्थाको विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल रु तीन करोड नौ लाख ४९ हजार पाँच सय ८८ मौज्जदात छ ।
जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा पूजालाई व्यवस्थित गरिएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्ला र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजन आएका सदस्यसचिव बलबहादुर खत्रीले बताए ।
प्रतिक्रिया