काठमाडौँ । निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार श्रेष्ठलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो ।
प्रहरीले कुन अभियोगमा श्रेष्ठलाई पक्राउ गरेको हो खुलाएको छैन । यद्यपि सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतले डीएनए टेष्टको माग गरेको कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो । सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुत यतिबेला शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा छिन् ।
गत शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । उनी अहिले पनि महाराजगञ्जमै उपचारकै क्रममा छिन् ।
आफूलाई ‘बलात्कार’ गरी गर्भवती बनाउने युवकलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको भन्दै न्यायाधीश र आरोपित युवकलाई सजाय हुनुपर्ने माग गर्दै निहारिका लामो समयदेखि आन्दोलन गरिरहेकी छन् ।
आफू अन्यायमा परेको भन्दै न्यायको मागसहित उनी विभिन्न समयमा अनसनसमेत बसेकी छन् । उनको प्रमुख माग भनेको आफूलाई ‘बलात्कार’ गर्ने युवक र जायजन्म भएको बालकको डीएनए टेष्ट गराउने नै हो ।
निहारिकाले बारम्बार डीएनए टेष्टको कुरा उठाइरहँदा आरोपित युवकले पनि आफू डीएनए टेष्ट गराउन तयार रहेको र डीएनए म्याचिङ भए हाँसीखुसी निहारिका र बालकलाई अपनाउने बताएका छन् ।
त्यति मात्रै हैन उनले निराहरिका एकै समयमा २/२ जना पुरुषसंग रिलेशनमा रहेको र अर्का प्रेमीको नामको ट्याटु हटाउन २ लाख मागेपछि विवाद भएको रहस्य खोलेका छन् ।
प्रतिक्रिया