काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरु शनिबार छलफल गरेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको बताए ।
‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन, राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न । समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले समेट्नुहुन्न’ घिमिरेले भने ।
न्यायोचित निर्णय नहुने भए भागवण्डामा जानुपर्ने उनले बताए । ‘न्यायोचित निर्णय गर्नुुहुन भने ४० प्लस चाहियो’ घिमिरेले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइ लड्नुपर्ने भयो ।’
यस्तै नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । भदौ २ गतेदेखि २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो ।
१० गतेदेखि सुरु भए पनि अभियान २४ गते नै सकिनेछ । भदौ महिनामै पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोले निर्वाचित केन्द्रित कार्यक्रमलाई छोट्याइएको हो । कांग्रेसका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम ३० र ३१ गते हुँदैछ ।
प्रतिक्रिया