• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दिईयो : मेयर बालेन्द्र साह

    884
    SHARES


    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नर्भिक अस्पतालले बनाएको संरचना हटाउन मानवीय संवेदनाका आधारमा समय दिएको बताएका छन् । मंगलबार दिउँसो नर्भिक अस्पताल पुगेर फर्किएका उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिएका छन्, ‘कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ ।

    सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनुपर्छ । नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो ।’ नर्भिक अस्पतालले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सापास नगरी संरचना बनाएपछि काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टाभित्र भत्काउन अल्टिमेटम दिएको थियो । त्यसपछि मंगलबार दिउँसो बालेन आफैं अस्पताल पुगेका थिए ।

    त्यस क्रममा नर्भिकल अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालको सेवा प्रभावित हुने भन्दै तत्काल संरचना भत्काउन नसक्ने बताएका थिए । त्यसपछि मेयर बालेन र अस्पताल प्रशासनबीच काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति भएको थियो । मेयर बालेनले दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनधिकृत रुपमा बनाइएका संरचना भत्काउनैपर्ने अवस्था रहेको बताए ।

    ‘अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो । सो थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्यूनतम समयले फरक पार्ने छ । इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिने छ’ बालेनले फेसबुकमा लेखेका छन् ।

    कुनै कारणले कानुनको पालना गर्न पछि नहट्ने भन्दै बालेनले लेखेका छन् ‘हामी पुनः आग्रह गर्छौं, कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरु हटाइदिनुहोला । अन्यथा, अन्य कुनै कारणले कानुनको पालना गर्नबाट हामी पछि हट्ने छैनौं ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ