• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अझै भेटिएनन् एम अधिकारी

    337
    SHARES


    काठमाण्डाै। सत्तारूढ नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सांसद मुसलमानले सदनमा पटक-पटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न आवश्यक रहेको बताए ।

    आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन् ? भन्ने कुरा आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसदले ढिलाइ गर्न नहुने बताए । सांसद मुसलमानले भने, ‘यो सदनभित्र पटक-पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौँ ।

    के हामी घर जाँदाजाँदा एम अधिकारीको पहिचान गर्न सक्छौँ ? किनभने सदनमा पटक-पटक उठेको विषयमा हामीले जनताकाे बीचमा गएर के जवाफ दिने हो ? एम अधिकारी को हुन् ? महाप्रसाद अधिकारी हुन् कि, माधव अधिकारी हुन् ? कहाँका बासिन्दा हुन । राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै किसान हुन् ? यसको जानकारी प्राप्त भयो भने सायद हामी जनताको माझमा जाँदा सदनमा हामीले एउटा व्यक्तिको पहिचान गर्न सक्यौँ भनेर भन्ने थियौँ ।’

    नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले हरुवाचरुवा र कमलरीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे । उनले संविधानले उनीहरूको जमिनको सुनिश्चितता गरे पनि त्यसअनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा आक्रोश व्यक्त गरे । सांसद विशंखेले उनीहरूको पुनर्स्थापनकाे व्यवस्था गर्न ढिलाइ नगर्नसमेत सरकारलाई सचेतगराए ।

    नेकपा एमालेकी सांसद आशाकुमारी विकले नासु भन्दा तल्लो तहका कर्मचारीको मनोबल घटाउने गरी तलब वृद्धि गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गरेका छन् । शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलब २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलब १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरूमाथि सरकारले अन्याय गरेको ऊनको भनाई छ ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले समानुपातिक, समावेशी सहभागिता सुनिश्चित हुने गरी न्यायाधीशको नियुक्त गर्न सरकारसँग माग गरे । उनले न्यायाधीशहरूको नियुक्ति संविधानले व्यवस्था गरेअनुसार समानुपातिक ढङ्गले हुने नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ