डेनमार्क । गैरआवासीय नेपाली संघ स्विडेनले स्टकहोल्मको भिकिङ यती क्लबसँगको सहकार्यमा चौथो एनआरएनए कप फुटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा स्विडेनबाट चार टिम, नर्वेबाट एक टिम र डेनमार्कबाट एक टिमको सहभागिता थियो ।
युरोपभर बसोबास गर्ने गैरआवासीय नेपालीलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्दै युवा तथा बालबालिकामा खेलप्रति अभिरुचि बढाउन प्रतियोगिता गरिएको आयोजकले बताएको छ । स्विडेनका रहेका नेपाली बाल खेलाडीलाई दुई टिममा राखेर प्रतिस्पर्धा गराइएको थियो । सिनियर ६ टिमले दुई समूहमा रहेर लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
एनआरएनए एनसीसी डेनमार्कले नर्वेको आइस एफसीलाई फाइनलमा अतिरिक्त समयमा २-१ ले हराएर उपाधि जितेको थियो । निर्धारित समयको खेल १-१ को बराबरीपछि अतिरिक्त समयमा पुगेको थियो । विजेताले १२ हजार र उपविजेताले ७ हजार स्विडिस क्रोनर नगद पुरस्कार जितेका थिए । फेयर प्ले टिमको उपाधि धौलागिरि टिम स्विडेनले जितेको थियो । उसले १ हजार नगद पुरस्कार पायो ।
उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक क्रमशः एनआरएन डेनमार्कका सरोज श्रेष्ठ र भुवन खड्काले जितेका छन् । सर्वाधिक गोलकर्ताको उपाधि आइस एफसी नर्वेका जुरासिक मौसमले पाए । इमर्जिङ प्लेयरको उपाधि एनआरएनए स्विडेनका दीपक रोक्काले पाए । रेफ्रीद्वय संजय कार्की र बेन्जामिन एरिसेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया