खोटाङ । पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीमा गाउँ नै जोखिममा रहेको छ । शनिवार राति ठूलो पाखा पहिरोको रूपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर जोखिममा छन् ।
चार चार सय मिटर फैलिएको पहिरो झन्डै सात सय मिटर तल मेकु खोलामा थुप्रिएको छ । पहिरोका कारण बस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभूत विद्यालय पनि जोखिममा परेको व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताएका छन् ।
पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा छ । उनीहरूको घरबाट झन्डै ५०/६० मिटरको दुरीमा पहिरो आइपुगेको छ । विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रासमा रहेका छन् ।
विद्यार्थी पहिरो खस्ने त्रासले पहिरोको डिलमा बार लगाइएकाे छ । पहिरोले दिप्दीमावा-माझगाउँ-देल्बाया सडकको झन्डै दुई सय मिटर भाग बगाएको छ ।
दुई/तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षाकै बीच पहिरो गएको हो ।
प्रतिक्रिया