• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार सुदुरपश्चिम

    नदी तटीय क्षेत्रमा बाढीको त्रास कायमै : स्थानिएलाई निद्रा, न भोक

    265
    SHARES


    कैलाली । गएकाे वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा रहेका छन्। वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन् ।

    टीकापुरको वैदीकी सुशीला बस्नेतले गएकाे वर्ष धान स्याहार्न नपाएको पीडा भुलेकी छैनन् ।उनलाई नियमित वर्षा हुन थालेपछि त्रासले सताएको छ । सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन् ।

    ‘मोहना र पथरैया नदीमा पानीको बहाव बढेको छ । नदीको पानी कतिखेर बस्तीमा पस्छ भन्ने त्रास कायम छ’,  भन्छिन्, ‘वर्षा हुन थाले त्रास बढ्छ, राति पानी आएमा त हामी कहिल्यै सुत्दैनौँ, वर्षा हुन थालेपछि छिमेकीलाई फोन गर्ने, म्यासेज गर्ने गरेर एकअर्काको खबर लिएर बस्छौँ ।’

    सुशीलाजस्तै प्रतिपुरका बलबहादुर चौधरीको धान गत वर्ष लटरम्म फलेको थियो । बाढीले चार बिघा जमिनको धान बगायो । उहाँ बर्सेनि समस्या झेल्नुपरेकाले सरकारले बाढीबाट नागरिक बचाउन प्रयास नगरेको गुनासो गर्छन् । ‘नदीमा पानीको बहाव बढी भएमा बस्तीमा पस्छ, सरकारले तटबन्ध थोरै-थोरै गरिरहेको छ । त्यही तटबन्ध भत्कँदै गएको छ’, चौधरी भन्छन्, ‘हाम्रो सुरक्षाबारे सरकारले ध्यान दिनुपर्छ । हामी धन, सम्पत्ति जोगाउनेभन्दा पनि ज्यान जोगाउने चिन्तामा हुन्छौँ ।’

    मीनादेवी चौधरीको पनि गएकाे वर्ष १८ कठ्ठा धान बगेको थियो । मीनादेवीलाई पनि वर्षा हुनेबित्तिकै त्रासले सताउँछ । मीनादेवीको घरमा बढी वर्षा भएमा पानी पस्ने जोखिम रहेकाले उनि  सरकारले समस्या समाधान गर्नुपर्ने माग गर्छिन् । ‘एकातिर मेहेनत गरेर लगाएको खेती डुबान र कटान हुने जोखिम छ । अर्कातर्फ बाढीमा बगिन्छ कि भन्ने त्रास छ’ मीनादेवीभन्छिन्, ‘हरेक वर्ष हामी त्रासमा बाँच्नुपरेको छ । त्रासमा कसरी निद्रा, भोक लाग्छ ।’

    सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी नागरिकका विभिन्न समस्या रहेका बताउँदै सरकारले बाढीसँग जोडेर जीविकोपार्जनका कार्य गर्नुपर्ने आवश्यकता रहेको बताउछन् । उनि स्थानीय सरकार, सङ्घसंस्था र विपद् व्यवस्थापन समितिले विभिन्न प्रयास गरिरहेको बताउछन् । ‘हामीले स्थानीयस्तरमा नागरिक कसरी जोगाउने, कसरी अत्यावश्यक कागजात जोगाउने भनी समुदायलाई तालिम दिएका छौँ, कसरी खोज तथा उद्धारमा खट्ने भनी युवालाई तयारी राखेका छौँ’, रेग्मी भन्छन् , ‘उच्च घरहरु तयारी अवस्थामा राखेका छौँ, कतिखेर बस्ती छाड्नपर्छ थाहा छैन ।’

    विपदबाट बच्न पूर्वतयारीसँगै तीनै तहका सरकार मिलेर नागरिक सुरक्षित बस्न पाउने वातावरण बनाउनुपर्ने स्थानीयको मागरहेकोछ । बाढीको त्रास बढ्दै गएका बेला टीकापुर नगरपालिकाले गएकाे वर्ष पूर्ण क्षति भएको वडा नं ८ मा खोज तथा उद्धार तालिम गरेको छ । नगरपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा समुदायलाई विपद्को सामना कसरी गर्ने भनी तालिम दिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विपद्को समयमा सूचना महत्त्वपूर्ण हुने बताएका छन् ।

    ‘विपद्को समयमा समयमै सूचना पाए क्षति हुनबाट जोगाउन सकिन्छ, त्यसैले समुदायमा आफूले पाएको सूचना छिटो दिनुपर्छ’, शाह भन्छन्, ‘खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल जनपद प्रहरी, रेडक्रस र समुदायमा रहेका सबैले संयुक्तरूपमा मिलेर काम गरेमा विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सकिन्छ । हामी सबै मिलेर विपद्को सामना गर्ने हो ।’

    कर्णाली नदीले बर्सेनि धार परिवर्तन गर्दा थप जोखिम बढेको बताइन्छ । कर्णाली नदी किनारका मसानघाट, जमरा कुलाको मुहान, शिवशक्ति, सामुदायिक वनको क्षेत्र, रानीकुलो मुहान क्षेत्र, भुराखानी सामुदायिक वनको क्षेत्र, टीकापुर पार्क र वनगाउँ, सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायतका ठाउँ जोखिममा छन् । जोखिममा रहेका यी क्षेत्रमा तटबन्ध बन्न बाँकी र पहिले बनेका तटबन्ध भत्किरहेका छन् । कर्णाली नदीमा तटबन्ध भत्किएका कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका डुबान तथा कटानको जोखिममा पर्ने देखिन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ