काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिमा आर्थिक समस्याको कारण ढिलाई हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउदैगर्दा एस्तो समस्या देखिएको हो।
‘नेपालको सम्भावित केन्या भ्रमण अघि नै नयाँ प्रशिक्षक नियुक्ति गर्ने तयारीमा क्यान लागेको छ । तर, आर्थिक र उहाँहरुको उपलब्धतामा छलफल भईरहेकाले यसले केही समय पनि लिन सक्छ,’ क्यानका महाप्रबन्धक वृत्तान्त खनालले खेलपाटीसँग भने ।
मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले गत साता राजीनामा दिएपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट नयाँ मुख्य प्रशिक्षक ल्याउने योजना बनाएको थियो । तर, अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) सँगको परामर्शमा यस अघि वैकल्पिकमा रहेकालाई मुख्य प्रशिक्षक नियुक्त गर्न सुझाव दिएपछि क्यानले त्यहिँ अनुसार प्रक्रिया अगाडी बढाएको छ ।
‘आर्थिक रुपमा क्यान बलियो नरहेको अवस्थामा प्रस्तावित मुख्य प्रशिक्षकहरुले तलबको रुपमा धेरै रकम माग गरेपछि हामी समस्यामा परेका छौ,’ खनालले भने, ‘तलब अनुसार उहाँहरुको उपलब्धतामा छलफल भईरहेको छ ।’
प्रशिक्षकलाई दिईने तलबका सन्दर्भमा आईसीसीबाट सहयोग लिन सकिन्छ । तर, क्रिकेटका अन्य क्षेत्रमा आउने उसको लगानी कम हुने हुदाँ यसको पक्षमा क्यान नरहेको समेत उनले बताए ।
पूर्व मुख्य प्रशिक्षक पुबुदुलेले मासिक १० हजार अमेरिकी डलर पाउदै आएका थिए । क्यानले मुख्य प्रशिक्षकका लागि यस अघिको वैकल्पिक सूचीमा रहेका प्रशिक्षकसँग छलफल गरिरहेको छ ।
प्रतिक्रिया