काठमाण्डाै। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले पढेलेखेकै र धनीवर्गबाट बच्चालाई आमाको स्तनपान गराउन हेलचेक्र्याइँ भइरहेको बताएका छन् ।
आज प्रसूति गृह थापाथली काठमाण्डौमा बेबी मिल्क बैंक स्थापना कार्यक्रममा उनले बट्टाको दूध तथा खानेकुरा खुवाउने, स्तनपान कम गराउने सङ्ख्या वाग्मती प्रदेशमै बढ्दो देखिनु चिन्ताजनक रहेकोबताएका हुन् ।
विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने सङ्ख्या बढी देखिएको तर बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वाग्मती प्रदेशभन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको उनको भनाई छ ।
मन्त्री खापुङले सहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेकोमा जोड दिएकाहुन् ।उनले ७ वटै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गर्ने लक्ष्य रहेको र यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा निःशुल्क नपाउनुका कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्न पनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।
मन्त्री खापुङले कोरोनाको सङ्क्रमण बढिरहेकाले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन र नागरिकलाई थप सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया