काठमाण्डौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालनमा आउदैछ ।
भर्खरै सम्पन्न कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आउँदाे पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताए ।
झन्डै तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क र मन्दिरसहितका संरचनाहरू निर्माण हुनेछन् । केबलकारको तल्लो स्टेशनसम्म पुग्ने झन्डै चार सय मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ ।
‘तल्लो स्टेशनको सब-इस्ट्रक्चरको निर्माण कार्य झन्डै सम्पन्न भइ सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ । नौ वटा टावरमध्ये आठ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ’, कम्पनीका अध्यक्ष ढकालले भन्नुभयो ।
उनले माथिल्लो स्टेशनमा सब-इस्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको बताए।
प्रतिक्रिया