काठमाडौँ। लगातारको वर्षासँगै झरेको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-जयराम सडक अवरुद्ध भएको हो ।
सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा लगायतका ठाउँमा जाने सवारीसाधन बाटैमा रोकिएका छन् । सवारीसाधन रोकिँदा यात्रु बीच बाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
अवरुद्ध सडक पहिरो पच्छ्याएर सञ्चालनमा नगरपालिकाले स्काभेटर पठाएको महादेवीस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए । वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् ।
लगातारको वर्षासँग झरेको पहिराले हुर्लुङ-जालपा, साप्सु-पानधारे लगायतका कच्ची सडक यसअघि नै बन्द भएका छन् । वर्षा सुरु भएसँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।
प्रतिक्रिया