काठमाडौँ। भारतमा कोरोना सङ्क्रमण दर नियमितरूपमा बढिरहदा सीमा जोडिएका प्रदेशहरुमा पनि सङ्क्रमण दर बढ्दै गएको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर दोब्बरले वृद्धि हुदै गइ रहेको छ। शुक्रबार १९ जनामा सङ्क्रमण देखियो भने शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमण दर मात्रै हेर्दा पनि पहिलो भन्दा दोस्रो साता दोब्बरले बढेको देखिइएको छ। पहिलो साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना सङ्क्रमण दर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा यस प्रदेशमा सङ्क्रमण दर बढ्दै गएको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् ।
दुई हप्ता अगाडि शून्यमा झरेको कोरोना सङ्क्रमण दर हाल बढ्दै गएसँगै जोखिम पनि बढेको छ। गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमण दर त्यसयता बढ्दै गएको छ । उनले भने, “पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको छ । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तर रूपमा भइरहेको छ ।”
सीमा क्षेत्रमा जोखिम बढेकाले तेहांका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रूपमा सञ्चालनमा रहेको जोशीले बताएका हुन् । सङ्क्रमण दर बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार सात सय ४३ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार आठ सय ९९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण यस सुदुरपश्चिम प्रदेशमा छ सय ३३ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया