• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बंगलादेशसँग ६ महिना मात्र आयात धान्ने विदेशी मुद्रा बाँकी रहेपछि सरकार आईएमएफको शरणमा

    690
    SHARES


    काठमाडौँ। बंगलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लाई ४० करोड डलरभन्दा बढी ऋण उपलब्ध गराउन अनुरोध गरेको छ । बंगलादेशले आर्थिक जोखिम बढेपछि बाध्यतावश आईएमएफसँग सम्पर्क गरेको विश्लेषकहरूको भनाइछ ।

    बंगलादेश सरकारले गत आइतबार आधिकारिक रूपमा आईएमएफलाई ऋणको लागि पत्र पठाएको त्यहाँको अर्थ मन्त्रालयका अधिकारीहरूले पुष्टि गरेका छन् । आईएमएफको एसिया र प्रशान्तीय विभागका निर्देशक कृष्णा श्रीनिवासनले रोयटर्स समाचार एजेन्सीसँगको कुराकानीमा बंगलादेशले ऋणका लागि आईएमएफको ‘क्रेडिटर्स रेजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रस्ट’सँग वार्ताको प्रस्ताव गरेको बताए ।

    उनका अनुसार बंगलादेशले आईएमएफसँग ४ अर्ब १६ करोड डलर सहयोग मागेको छ । श्रीनिवासनको यस्तो खुलासाका बाबजुद बंगलादेशका कुनै अधिकारीले पनि आईएमएफसँग कति ऋण मागेको भन्ने आधिकारिक रूपमा खुलाएका छैनन् ।

    तर बंगलादेशको अंग्रेजी पत्रिका डेली स्टारले अर्थ मन्त्रालयका उसको स्रोतलाई उद्धृत गर्दै बंगलादेशले ४.५ अर्ब डलर ऋण मागेको लेखेको छ । आइतबार बंगलादेश सरकारले आधिकारिक रूपमा आईएमएफलाई एक पत्र पठाएर ऋणको लागि प्रस्ताव गरेको छ । तर बंगलादेशले आईएमएफसँग यति ठूलो ऋण लिन किन खोज्दैछ ?

    अन्तर्राष्ट्रिय बजारमा अहिले तेल तथा ग्यास, मेसिनरी तथा कच्चा पदार्थको मूल्यवृद्धिले बंगलादेशसँगको विदेशी मुद्राको सञ्चितिमा ठूलो दबाब परेको अर्थविद्हरू बताउँछन् । बंगलादेशले यही दबाबलाई झेल्न आईएमएफ दाताहरूसँग सम्पर्क गरेको हो ।

    गत वर्ष बंगलादेशको विदेशी मुद्रा सञ्चिति ४५.५ अर्ब डलर रहेकोमा अहिले (जुलाई २०) यो झरेर ३७ अर्ब ६७ करोड डलरमा पुगेको छ । बंगलादेश सरकारले आईएमएफलाई पठाएको पत्रमा गत वर्षको तुलनामा यस अवधिमा ३९ प्रतिशतले आयात बढेको तर मुद्रा सञ्चिति घटिरहेको उल्लेख गरेको छ ।

    ‘बंगलादेशले अहिले एक दशकयता सबैभन्दा गम्भिर विदेशी मुद्रामाथिको दबाब झेलिरहेको छ । पछिल्लो समय रेमिट्यान्स र निर्यात दुवै केही न केही बढेको छ । तर निर्यात दर राम्रो भएपनि आयात वृद्धि अत्यधिक रहेकाले भुक्तानी सन्तुलनमा दबाब परेको छ ,’ बंगलादेशको एक अध्ययन संस्थान (सानेम)का कार्यकारी निर्देशक सलिम रेहानले बीबीसी बंग्लालाई बताए ।

    दक्षिण एसियाका अन्य दुई मुलुक श्रीलंका र पाकिस्तानले आर्थिक कठिनाइका कारण आईएमएफको ऋणको अनुरोध गरेका छन् । बंगलादेशसँग हाल रहेको विदेशी मुद्रा सञ्चिति ६ महिनाभन्दा बढीको आयातका लागि पर्याप्त रहेको बंगलादेशी अधिकारीले दावी गरेका छन् ।

    विश्वमा इन्धन र खाद्यवस्तुको मूल्यवृद्धिसँगै आयात लागत पनि बढेको छ, जसले बंगलादेश र डलर बीचको विनियम दर रेकर्ड स्तर फरक देखिएको छ । बंगलादेशले आईएमएफका अतिरिक्त विश्व बैंक, एसियाली विकास बैंक (एडिबी) र जापानको सहायता संस्था जाइकासँग पनि बजेट सहयोगको प्रक्रिया सुरु गरेको छ ।

    आईएमएफको ऋणबारे किन यति धेरै चर्चा ?

    बंगलादेशले स्थापनाको अर्को अर्थात सन् १९७२ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्यता लिएको थियो । उसले यस संस्थाबाट यसअघि पनि धेरैपटक ऋण लिएको छ, तर पनि उसले कहिल्यै १ अर्ब डलरभन्दा बढि सहयोग लिएको छैन ।

    यस अर्थमा अन्तर्राष्ट्रिय संस्थाबाट ऋण वा आर्थिक सहायता लिनु बंगलादेशका लागि नौलो कुरा होइन । तर आईएमएफको यो ऋणलाई लिएर अहिले किन यति धेरै चर्चा भईरहेको छ ?

    आईएमएफले कुनै पनि देशलाई ऋण दिँदा ती देशको नीतिगत विषय सुधारसम्बन्धी सर्तहरू राख्छ । वित्तीय क्षेत्र सुधारका यी सर्तहरू कार्यान्वयन गर्दा जनतामा अलोकप्रिय हुने डरले कहिलेकाहीं सरकारहरू ऋण लिन चाहँदैनन् ।
    यी सुधारका सर्त कार्यान्वयनलाई लिएर ऋण लिन चाहने सरकारमा असमञ्जसको स्थिति त हुन्छ, तर ऋण लिने हो भने आइएमएफले राख्ने सर्तहरूमा मान्दिनँ भन्न पाइँदैन । तर ऋण लिँदा बैंकिङ र कर क्षेत्रको सुधार गर्नुपर्ने सर्तले ऋण लिने मुलुकको वित्तीय क्षेत्रलाई फाइदा पुग्ने अर्थशास्त्रीहरू विश्वास गर्छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ