काठमाडौँ। चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष तथा अभिनेता भुवन केसीले तीन दशक लामो कलाकारिताबाट बटुलेको अनुभव र नयाँ पुस्ताको जोस जाँगर र नवीन सोचलाई मिलाएर फिल्म उद्योगलाई नयाँ उचाइमा दिने बताए।
आफुलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद तथा अध्यक्ष बनेपछि बधाई दिने सबैप्रति उनले आभार समेत ब्यक्ति गरेका छन् ।
नमस्कार म भुवन केसी,
सर्वप्रथम त, चलचित्रकर्मीको सर्वोच्च संस्था नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएकोमा मलाई शुभकामना व्यक्त गर्ने मेरो परिवार, देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तक, वरिष्ठ चलचित्रकर्मी, समकालीन चलचित्रकर्मी, पेशागत संघ–संस्था तथा पदाधिकारी र मलाई यो यात्रामा प्रत्यक्ष र परोक्ष रुपमा साथ दिने यहाँहरु सबैलाई हृदयदेखि नै आभार प्रकट गर्दछु । साथै यो जिम्मेवारीका लागि योग्य सम्झने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीज्यू, मन्त्रिपरिषद् तथा नेपाल सरकारप्रति पनि आभार प्रकट गर्दछु ।
आजभन्दा झण्डै चार दशक अघि मैले जानी नजानी कलाकारिता क्षेत्रमा पाइला राखेको थिएँ । त्यो समय कलाकारिता गर्न र फिल्म बनाउनु सजिलो काम थिएन । तैपनि म र मेरो समूहले नेपाली सिनेमाको स्तरोउन्नति र प्रगतिको लागि हरदम काम गरिरह्यौँ । र पत्तै नपाई चालीस साल बिताएपछि कसो कसो यो क्षेत्र पनि मेरो घर नै बनेको छ, कर्मघर । मैले यो घरको स्याहारसुसार र रंगरोगनमा जवानी खर्चिएको छु ।
हिजोबाट मेरो भूमिका फेरिएको छ, सम्मानित मन्त्री परिषद्को निर्णयले मेरो भूमिका झन् गहन र संवेदनशील बनाई दिएको छ । मलाई जुन घरले आश्रय दिएको थियोे, आज म त्यही घरको अभिभावक बन्न पुगेको छु । तीन दशक लामो कलाकारिताबाट बटुलेको अनुभव र नयाँ पुस्ताको जोस जाँगर र नवीन सोचलाई मिलाएर इन्डष्ट्रीलाई नयाँ उचाइमा पुर्याउने समय आएको छ र त्यो समयको नेतृत्वको बागडोर मेरो हातमा आइपरेको छ । यसलाई मैले गौरवपूर्ण चुनौतीको रुपमा लिएको छु ।
बदलिँदो समयको मागसँगै नेपाली सिनेमालाई पृथक शिराबाट अगाडि बढाउन सम्पूर्ण कलाप्रेमी, पत्रकार, उद्योग व्यवसायी,राजनीतिज्ञ, समाजसेवीलगायत सम्पूर्ण सरोकारवालाहरुको साथ, सहयोग, सल्लाह सुझावलाई आत्मसात् गर्दै आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्ने वाचा गर्दछु । फेरि पनि यहाँहरूले देखाउनुभएको सद्भावका आगि अनुग्रहित भएको स्मरण गर्दै भविष्यमा पनि यहाँहरुको स्नेहको अपेक्षा राख्दछु । -उही तपाईंहरुकै भुवन केसी
प्रतिक्रिया