डोटी । डोटीको बडीकेदार गाउँपालिका-१ बर्छैन स्वास्थ्य चौकीमा बिरामी बोक्न ल्याइएको एम्बुलेन्स व्यक्तिगत कामका लागि प्रयोग हुने गरेको आरोप लागेको छ । गैरव्यक्तिले चलाउने, सरसामान बोक्ने, आवतजावत गर्ने लगायतका निजी काममा एम्बुलेन्स प्रयाेग भएकाे स्थानीयकाे दाबी रहेको छ ।
गएको बिहीवार राति चालक तेज बोहाेराले काका पुष्कर बोहाेरालाई घर पुर्याउने क्रममा वीपीनगरको सुवाखान भन्ने ठाउँमा एम्बुलेन्स दुर्घटनामा परेकाे थियाे । स्थानीयले एम्बुलेन्स दुर्घटना भएकाे विषयमा छानबिन गर्न माग गरेका छन् । गैरचालकले जाँड रक्सी खाएर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको भन्दै स्थानीयले छानबिनको माग गरेको बडीकेदार-१ का स्थानीय पदमबहादुर भाटले बताएका छन् ।
तर एम्बुलेन्स चालक तेज बोहाेराले बदेँलसँग ठोक्किएर एम्बुलेन्स दुर्घटनामा परेकाे दाबी गरेका छन् । बीमा नवीकरण समेत नभएको अवस्थामा रातिको बेला घरायसी प्रयोजनमा एम्बुलेन्स प्रयाेग भएपछि स्थानीयले विराेध जनाएका हुन् ।
वडा नं १ का वडाअध्यक्ष डम्बरबहादुर बोहाेराले दुर्घटनाकाे वास्तविकता चालकलाई नै थाहा हुने बताए । उनले भने,’सिधा सडक छ, जनावर भेटिए पनि टाढैबाट देखिने ठाउँ छ, कसरी दुर्घटना भयो, गैर चालकले चलाएको हो, होइन भन्ने विषयमा छानबिन हुन्छ ।’
स्थानीयवासीले भने जनप्रतिनिधिकै संलग्नतामा एम्बुलेन्स गैरचालकले जाँडरक्सी खाएर चलाउँदा दुर्घटना भएकाले त्यसको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। दुर्घटनामा परेका चालक बोहाेरा र एम्बुलेन्समा रहेका उनका काका सकुसल थिए । एम्बुलेन्सलाई भने मर्मतका लागि ग्यारेजमा राखिएको जनाइको छ ।
प्रतिक्रिया