• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    चितवनमा गैंडा मर्ने क्रम बढेपछि, छानविन समिति गठन

    653
    SHARES


    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङे गैंडाको मृत्युदर बढ्दै गएको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा ३७ वटा गैंडा मरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ३२ गैंडा मरेको तथ्यांकमा उल्लेख छ ।

    प्राकृतिक मत्युदर सँगसँगै केही वर्षअघि रोकिएको गैंडाको चोरीसिकारीलेसमेत गैंडा मर्न थालेको पाइएको छ । निकुञ्जको आफ्नो संयन्त्र चोरी सिकारी नियन्त्रण गरेर ‘जिरो पोचिङ’को अवस्थामा फर्काउन सकेको छैन । गत वर्ष मृत्यु भएका ३७ वटा गैंडामध्ये २ वटालाई चोरी सिकारीले मारेको निकुञ्जले उल्लेख गरेको छ ।

    निकुञ्जले सार्वजनिक गरेको तथ्यांकमा गत मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा करेन्ट लागेर मरेको गैंडाको संख्या जोडिएको छैन । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार गैंडा मारेको पुष्टि भए पनि कसले करेन्ट लगाएर मारेको हो भनेर अनुसन्धानबाट पत्ता लगाउन नसकिएको बताउँछन् । निकुञ्ज क्षेत्रमा मारिएका दुई गैंडा मध्ये एकको खाग र खुर नै काटेर लगेको भेटिएको थियो भने अर्कोको खाग र खुर नै भेटिएको थियो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरी सिकारीबाट गैंडाको मृत्यु अघिल्लो वर्षभन्दा कम भएको तर प्राकृतिक मृत्युदर बढेको बताए । गैंडाको संख्या धेरै हुँदा मृत्युदर बढ्नु स्वाभाविक देखिने उनको भनाइ छ । भाले गैंडाको स्वभाव अर्को भाले देखेपछि जुध्ने र मृत्यु हुने अवस्थासम्म पुग्ने गरेको उनले बताए ।

    कहाँ, कहिले, कसरी मरे गैंडा ?

    निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गएको साउनदेखि गत असार ३० गतेसम्म मध्यवर्ती क्षेत्र र निकुञ्ज भित्र ३७ वटा गैंडा मरेका छन् । गैंडाहरू दलदलमा भासिएर, बुढो भएर, खोलाले बगाएर, आपसमा जुधेर र माउसँग छुट्टिंदा बाघले खाएर मृत्यु भएका छन् ।

    निकुञ्जको तथ्यांक अनुसार २ गैंडा चोरी सिकारीबाट, ६ गैंडा बाघको आक्रमणबाट, ८ वटा गैंडा जुधेर, ७ गैंडा दलदलमा भासिएर, २ गैंडा बाढीले बगाएर, १ गैंडा खाडलमा परेर मृत्यु भएको छ । अन्य मृत्युलाई निकुञ्जले प्राकृतिक मृत्यु भनेर उल्लेख गरेको छ ।

    निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढेसँगै निकुञ्ज भित्रसमेत बाघले गैंडाका ५ वर्षभन्दा कम उमेरका गैंडाको बच्चालाई मारेको पाइएको छ । मृत्यु हुनेमध्ये १८ वटा भाले, १४ वटा पोथी र ५ वटा लिंग पहिचान नभएका छन् । निकुञ्जका अनुसार गत वर्षको साउन ११ गते ४ घाँगर क्षेत्रमा लिंग र उमेर पहिचान नभएको एउटा र असोज ११ गते धोबा क्षेत्रमा २८ वर्षको पोथी गैंडाको चोरी–सिकारीबाट मृत्यु भएको थियो । २० वर्षभन्दा बढी उमेर भएका १६ गैंडाहरू मरेका छन् ।

    गत माघ ९ गते वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट निस्किएको १२ वर्षे वयस्क भाले गैंडाको पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि बनाइएको नालीको खाल्डोमा परेर मृत्यु भएको थियो । सो गैंडाको मृत्यु भएपछि वन मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा छानबिन समिति बनाएर प्रतिवेदन तयार गरे पनि घटनाका दोषीहरुमाथि कारबाही भएको छैन । निकुञ्जको बेवास्ता र निर्माण ठेकेदार कम्पनीको लापरबाहीबाट १२ वर्षको वयस्क भाले गैंडाको मृत्यु भएको थियो । सडक निर्माण गर्ने ठेकदारलाई निकुञ्जले पक्राउ पुर्जी जारी गरे पनि उनी पक्राउ परेनन् ।

    सूचना लुकाउँछ निकुञ्ज

    निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष ०७३/७४ मा २५, ०७४/७५ मा २६, ०७५/७६ मा ४३, ०७६/७७ मा २६, ०७७/७८ मा ३२ गैंडा मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार हाल ६९४ वटा गैंडा छन् ।

    चितवन राष्ट्रिय निकुञ्जको प्रमुख भएर हरिभद्र आचार्य आएपछि निकुञ्ज भित्र गैंडा मृत्यु भएका घटना सूचनाहरू लुकाउन थालिएका छन् । निकुञ्जले गैंडा मरेको घटनाको जानकारी सार्वजनिक रूपमा दिने गरेको भए पनि आचार्यले निकुञ्जको नेतृत्व लिएपछि गैंडा मरेको सूचना दिन छाडिएको छ । गएको वैशाख ४ र ६ गते तथा असार १९ र ३० गते मरेका गैंडाको सूचना निकुञ्जले असार सकिएपछि मात्रै सार्वजनिक गरेको थियो । यसअघि, गत पुसमा मरेका गैंडाको विवरण पनि निकुञ्जले दिएको थिएन ।

    पुस १ गते नै निकुञ्जको टाइगर टप्स क्षेत्रमा पर्ने भिम्ली भन्ने ठाउँमा र पुस ३ गते निकुञ्जको नवलपरासी अमलटारी क्षेत्रको आइल्याण्ड क्षेत्रमा पोथी गैंडा मृत फेला परेको सूचना निकुञ्जले दिएको थिएन ।

    निकुञ्जले यसअघि गैंडा वा अन्य संरक्षित वन्यजन्तु मर्दा वा मारिदा त्यसलाई सार्वजनिक गर्ने गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवरले गैंडा मरेको विवरण सार्वजनिक नगरिनु गलत भएको बताउँछन् ।

    निकुञ्जको कोर क्षेत्रमा हुने गस्ती र स्वीप अप्रेसन पछिल्लो दिनमा फितलो बन्दै गएको निकुञ्ज स्रोतले जनाएको छ । निकुञ्जका हरेक पोष्ट तथा सेक्टरबाट हप्तै पिच्छे नियमित रुपमा यस्ता अप्रेसनहरु हुने गर्छन् । दिनमा ३ पटक हरेक पोष्टबाट नियमित गस्ती गर्ने चलन विगतमा रहेको थियो । तर, पछिल्ला दिनमा निकुञ्ज प्रशासनको मुभमेन्ट भित्री कोर क्षेत्रमा कम हुँदै जाँदा गैंडाको चोरी सिकारी र प्राकृतिक मृत्युको सूचना थाहा नहुने अवस्था आएको निकुञ्जका एक अधिकारीले बताए ।

    गैंडा मारेको सूचना दिने निकुञ्ज बाहिरको सुराकी संयन्त्र परिचालनसमेत कमजोर बनेको छ । निकुञ्ज भित्र ५२ पोष्ट र करीब ११ सय नेपाली सेना बस्छन् । निकुञ्जका कर्मचारी ४ सयको हाराहारीमा छन् ।

    निकुञ्जका पूर्वसंरक्षण अधिकृत कमलजंग कुँवर गैंडाको चोरी शिकारी बढ्नुमा निकुञ्जको सुराकी र सुरक्षा संयन्त्र फितलो भएको हुनसक्ने बताउँछन् । उनले कमजोर बनेको सुराकी र सुरक्षा संयन्त्रलाई बलियो र सक्रिय बनाउँदै समुदायको साथ लिनुपर्ने बताए ।

    विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा मारेमा वा यसको अंग किनबेच र ओसार पसार गरेमा १५ वर्षसम्म जेल सजाय वा १० लाख रुपैयाँसम्म जरिवाना या जेल र जरिवाना दुवै हुने कानुनी प्रावधान छ ।

    अनुसन्धानका लागि विज्ञ टोली गठन

    गैंडाको मृत्यु दर बढ्दै गएपछि त्यसबारेको अनुसन्धान गर्न साउन २ गते वन तथा वातावरण मन्त्रालयले विज्ञहरुको एउटा टोली गठन गरेको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी मिलनध्वज खाण, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक वीरेन्द्र जोहारी, विज्ञ डा. शान्तराज ज्ञवाली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकै सदस्यसचिव इकोलोजिस्ट डा. गणेश पन्त सहभागी टोली गठन गरिएको छ । यो समितिले गैंडाको अस्वाभाविक मृत्युदर, चोरी सिकारी नियन्त्रणमा भैरहेका काम लगायतका विषयमा विस्तृत अध्ययन गर्ने कार्यादेश पाएको छ ।

    टोलीले गैंडाको संरक्षणका लागि अहिले भैरहेका कार्यक्रमको प्रभावकारिता, संरक्षणमा भइरहेका चुनौती र भविष्यमा यसलाई कसरी गैंडाको मृत्युदरलाई घटाउन सकिन्छ भन्ने बारेमा विस्तृत अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ । विज्ञ टोलीले १५ दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमै बसेर अध्ययन गर्ने जनाइएको छ ।

    निकुञ्जमा गैंडा मर्ने क्रम बढेपछि बेलाबेलामा सरकारले यस्ता समितिहरू बनाउने गर्छ । संसदीय समिति तथा विज्ञ टोलीहरुका समिति पनि बन्ने गरेका छन् । तर ती समितिले दिने प्रतिवेदन र दिइएका सुझावको कार्यान्वयन भने फिलतो हुँदा गैंडाको मृत्युदर घट्न सकेको देखिंदैन ।

    ०७५/७६ मा सबैभन्दा धेरै ४३ गैंडा मरेपछि अहिलेका निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा एउटा विज्ञ टोली गठन गरेको थियो । ०७७ कात्तिकमा सहायक संरक्षण अधिकृत ऋषि रानाभाट संयोजकत्वमा एक समिति गठन गरिएको थियो । सो समितिको प्रतिवेदनका आधारमा संसदीय समितिसमेत अध्ययनका लागि आएको थियो । समितिले पश्चिमी सेक्टरमा गैंडाको अधिक चापलाई कम गराउन पूर्वी क्षेत्रमा केही गैंडा सिफ्ट गर्न, बाढीबाट जोगाउन केही ठाउँमा माटोका अग्ला पहाड बनाउन, बर्खामा जान नसकिने पोष्टहरूलाई स्थायी प्रकृतिको बनाउन, सुरक्षा गस्ती बढाउन लगायतका सुझाव दिएको थियो ।

    पूर्णाकुमारी सुवेदी नेतृत्वको संसदीय समितिले अधिक संख्यामा गैंडा मरेकाले प्राकृतिक मृत्यु हो भनेर बस्न नहुने भन्दै चोरी–सिकार रोक्नका लागि ठोस पहल तत्काल चाल्न, विभिन्न प्रकोप, जलवायु परिवर्तन, आहारा र बासस्थानमा देखिएको समस्या समाधान गर्न पनि सुझाव दिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ