• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    बाबुरामले गठन गर्ने नयाँ पार्टीका लागि अध्यक्षको खोजी

    1.9K
    SHARES


    काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा)को कारवाहीमा परेका डा.बाबुराम भट्टराई नयाँ पार्टी गठनको गृहकार्यमा छन् । डा. भट्टराईले सो पार्टीको अध्यक्ष बन्न अनिच्छा व्यक्त गरेसँगै अब कसलाई अध्यक्ष बनाउने भन्नेमा अन्योल देखिएको छ । नयाँ पार्टीमा डा. भट्टराईले कार्यकारी भूमिकामा नरहने प्रस्ट पारिसकेका छन् ।

    उनी जसपामा जुन भूमिकामा थिए, नयाँ पार्टीमा पनि त्यही भूमिकामा रहने वा अन्य अभिभावकीय भूमिकामा रहने तर कार्यकारी पदमा नरहने योजनामा छन् ।

    नयाँ पार्टीको अध्यक्ष बन्ने लाइनमा महेन्द्र राय यादव र राजकिशोर यादव छन् । पार्टीको नेतृत्वमा हिसिला यमी, गंगा श्रेष्ठको नाम पनि चर्चामा आइरहेको छ । बाबुराम पक्षका एक नेताले भने, ‘बाबुरामजी अध्यक्ष बन्ने इच्छा नदेखाएपछि पूर्व नयाँ शक्तिबाटै कसैले नेतृत्व गर्नुहुन्छ ।’

    महेन्द्रराय यादव र राजकिशोर यादवलाई पूर्व नयाँ शक्तिका नेताहरु अध्यक्ष स्वीकार गर्ने पक्षमा नरहेको ती नेताले बताए । बाबुराम अध्यक्ष नबनेपछि हिसिला यमी, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंहलगायतले दाबी गर्न सक्ने उनको भनाइ छ । पूर्व नयाँशक्ति पक्षका नेताहरुले महेन्द्र तथा राजकिशोरलाई अध्यक्ष नदिने अडान राखेको उनको दाबी रहेको छ । तर स्वयं बाबुराम भट्टराई भने महेन्द्र वा राजकिशोरमध्ये एक जनालाई नेतृत्व दिने पक्षमा छन् ।

    बाबुराम निकट एक नेताले भने, ‘बाबुरामजी आफू अध्यक्ष नबन्ने भएपछि महेन्द्र वा राजकिशोरमध्ये एक जना कसैलाई अध्यक्ष बनाउने पक्षमा हुनुहुन्छ ।’ महेन्द्र राय यादव सुरुदेखि बाबुराम भट्टराईलाई साथ दिँदै आएका छन् । काठमाडौंको जडीबुटीमा भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पनि महेन्द्र राय यादवको उपस्थिति थियो तर राजकिशोर यादव तटस्थ बसिदिए ।

    न उनी उपेन्द्र यादव पक्षको बैठकमा गए, न बाबुराम पक्षको बैठकमा । यद्यपि उनी अहिले पनि बाबुराम भट्टराईको सम्पर्कमा छन् । बाबुराम भट्टराईसँग उनको नियमित संवाद भइरहेको स्रोत बताउँछ ।

    नयाँ पार्टी बनाउने कि अरु कुनै उपाय खोज्ने भन्ने विषयमा उनीहरुको बीचमा कुराकानी भइरहेको स्रोतले जनाएको छ । बाबुराम भट्टराईले जसपामा विद्रोह गर्न केही हतार गरेको राजकिशोर यादवको धारणा छ । उनी जसपामै बसेर संघर्ष गरेर पार्टीलाई रुपान्तरण गर्ने सोचमा थिए ।

    बाबुरामलाई पनि उनले त्यही सल्लाह दिँदै आए पनि बाबुरामले हतारहतार छुट्टै केन्द्रीय समितिको बैठक बोलाएको कारण उनी तटस्थ बसेका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया