काठमाडौँ। सहरी विकासमन्त्री भेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् ।
मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढी हाँसेर जाने बताएका हुन् ।
बैठकमा सांसदहरूले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाई हुँदा रोएको तर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए ।
मन्त्री चौधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुञ्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यस अवसरमा मन्त्री चौधरीले सरकारले एक हप्ता भित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अव सार्वजनिक गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया