• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रोकिएका नेपाली कामदार इजरायल पठाईदै, साउन ८ र ९ गते १०० जना जाने

    1.3K
    SHARES


    काठमाडौँ। गत फागुनदेखि रोकिएको नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु भएको छ ।

    साउन ८ र ९ गते नेपालबाट १०० जना नेपाली कामदार इजरायल जान लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरु मध्ये १०० जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएको विभागले जनाएको छ ।

    विभागले भिसा आएकाहरुलाई आफ्नो राहदानी बुझ्न, उडान अनुसार बनाइने ग्रुपमा आफ्नो नाम समावेश गराउन र कोभिड १ विरुद्धको खोप लगाएको विवरण पेश गर्न साउन ४ गतेको समय दिएको छ । ८ र ९ गते हुने उडानका लागि सीलिंक होलिडेबाट हवाई टिकट बुकिङ गर्न सकिने जनाइएको । त्यसका लागि ५९ हजार ९९० रुपैयाँ हवाई भाडा तोकिएको छ ।

    इजरायल उड्ने नेपाली कामदारले उडान गर्नुपूर्व ७२ घण्टाभित्र कोभिडको पीसीआर परीक्षण गराउनुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएको अवस्थामा मात्र इजरायलका लागि उडान गर्न पाउनेछन् ।

    विभागको इजरायल र जापान शाखाका निर्देशक श्रीचन्द्र साहले श्रम स्वीकृतिका लागि अनलाइन आवेदन गर्नका लागि जीवन बीमा गरेको हुनुपर्ने बताए । त्यसका साथै कल्याणकारी कोषको रकम तिरेको हुनुपर्ने उनको भनाइ छ ।

    विभागले १०० जना कामदारको विवरण समेत सार्वजनिक गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच एक हजार जना नेपाली सहायक कामदार लैजाने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार विभागले आवेदन आह्वान गरेर एक हजार एक सय ७५ जनाको अन्तिम लिष्ट निकालेको थियो । जसमध्ये २९७ जना गत पुस र माघमा नै इजरायल पुगिसकेका छन् । बाँकी रहेका कामदार अहिलेसम्म जान पाएका थिएनन् ।

    इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको आन्दोलनको कारण लामो समयदेखि नेपाली कामदार लैजाने प्रक्रिया रोकिएको नेपालस्थित इजरायली दूतावासले जनाएको थियो ।

    त्यसका लागि नेपालले पटक पटक ताकेका गरेको थियो । त्यसबीचमा नेपाली अधिकारीले इजरायल अधिकारीसँग प्रत्यक्ष भेटवार्ता गरेर समेत रोकिएको प्रक्रिया तत्काल खोल्न आग्रह गरेका थिए । जवाफमा कर्मचारीको आन्दोलनका कारण प्रक्रिया अवरुद्ध भएको र चाँडै नै सुरु गरिने आश्वासन दिएका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया