काठमाडौँ। कालोपत्रे गरिएको १३ दिन नपुग्दै कञ्चनपुरको शुक्लाफाँटामा सडक उप्किन थालेको छ। कन्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीमा गरिएको कालोपत्रे भत्किएपछि स्थनियले बिरोद जनाएकाछन्
कालोपत्रे भत्किन थालेपछि स्थानीयले विरोध गरेका हुन् । सडक कालोपत्रे भइरहेको बेलामा पनि स्थानीयले पटक-पटक ठेकेदारलाई गुणस्तरमा प्रश्न उठाए पनि कसैले चासो नदिएको स्थानीय केशवबहादुर साउँदले बताएका छन् ।
‘मन्त्रीको दबाबमा यहाँ सडक निर्माण भइरहेको छ। तिमीहरूले अवरोध गरे अर्को ठाउँमा जान्छौँ यो काम यहीँ छोड्छौँ भन्दै हामीलाई प्राविधिकले धम्की दिएर काम भएको हो’ साउदले भने ।
उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा बनेको हो। ४२ लाखको योजना रहेकोमा प्रकाश नेगीले सडक निर्माणको ठेक्का २५ लाखमा सम्झौता गरेका थिए। उनी पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीका भाइ समेत रहेका छन् ।
उनीसँगै शुक्लाफाँटा नगरपालिकाका कर्मचारी टेकेन्द्रप्रसाद भट्टले पनि उक्त काम गरेका थिए। उनी नगरपालिकाको योजना शाखामा सवइन्जिनियर पदमा कार्यरत रहेका छन् ।
पूर्वाधार विकास कार्यालय प्रमुखका भाइ र नगरपालिकाका सवइन्जिनियरले ठेक्का लिएर गरेको काम गुणस्तरीय नभएको स्थानीयको आरोप रहेको छ।
तर पूर्वाधार विकास कार्यालयका प्रमुख नेगीले पारिवारिक सम्बन्धका कारण ठेक्का उपलब्ध नगराइएको दाबी गरे। अहिले काम गुणस्तरहीन भएको गुनासो आएपछि निकासा रोकिएको र पुनः कालोपत्रे गर्न लगाइने सूचना अधिकारी हेमराज भट्टले बताएका छन्।
स्थानीयले विरोध गरेपछि शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराले कालोपत्रे सडकको निरीक्षण गरेका थिए। अनुगमनपछि मेयर महराले नगरपालिका कार्यालयमा निर्माण व्यवसायी ठेकेदारलाई बोलाएर छलफल गरेका थिए। छलफलका क्रममा ठेकेदार नेगीले सडक मर्मत गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया