मकवानपुर । ललितपुर जिल्लाको अर्को पालिकाले पनि करारका कर्मचारीलाई सेवाबाट हटाएको छ ।
ललितपुरको वाग्मती गाउँपालिकाका यसअघि करार सम्झौतामा काम गर्दै आएका ११ जना कर्मचारीलाई सेवामा नवीकरण नगर्ने भएको हो । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै ११ जनाले सेवाबाट हट्नु पर्ने छ ।
गाउँपालिकामा ४५ जना करार सेवामा कार्यरत कर्मचारी रहेकोमा ११ जनाको करार थप नभएको हो । कर्मचारीहरूलाई आजै आइतबार मात्रै करार अवधि नथप्नेबारे जानकारी गराइएको थियो ।
गाउँपालिकाको स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई समेत सेवाबाट हटाइएपछि स्वास्थ्य सेवा प्रभावित हुने भएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा वर्षौंदेखि काम गरिरहेका र राज्यले प्रसूति सेवालगायतमा तालिम दिएर लगानी गरेका कर्मचारीलाई सेवाबाट हटाइँदा राज्यको लगानी समेत खेर गरेको गुनासो छ ।
गाउँपालिकाको निर्णयबाट उत्तरी मकवानपुर जिल्लाको दक्षिणभागमा बसोबास गर्ने स्थानीयहरु समेत प्रभावित हुने भएका छन् । ललितपुर जिल्लाको आश्राङ, गिम्दी, प्युटार र ठूलादुर्लुङलगायत ठाउँबाट उपचार गर्न आउने सेवाग्राही प्रभावित हुने भएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले कर्मचारी धेरै भएर करार थप नभएको बताए । उनले कर्मचारी निकालेर अरू भर्ना गर्ने भन्ने तयारी नभएको दाबि गरे । २ दिन अघि मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले कर्मचारीलाई सेवा अवधि नथप्ने सूचना जारी गरेको थियो ।
प्रतिक्रिया