• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुराकीको बदनियतले निर्दोष व्यक्ति १२ दिनदेखि थुनामा

    532
    SHARES


    काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्टेलिजेन्स टोलीलाई २३ असारमा एउटा सूचना आयो, ‘काठमाडौं महानगरपालिका–७, चाबहिलको एक खाजा घर अगाडि पार्किङ गरेको मोटरसाइकलको सिटमुनि कस्तुरीको विना छ ।’ संरक्षित कस्तुरीको विनाको किनबेच हुन लागेको सूचना पाएपछि रानीपोखरीको टोली चाबहिल पुग्यो ।

    ‘मोटरसाइकलमा गएर हेर्दा सिटमुनि रातो कपडाले बेरेको अवस्थामा कस्तुरीको विना जस्तो वस्तु फेला पर्‍यो’ उपत्यका प्रहरीका प्रवक्ता एसपी सन्तोष सिंह राठौर भन्छन्, ‘त्यसपछि प्रहरीले मोटरसाइकल धनी शिव लिम्बुलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।’

    तर घटनामा ट्वीस्ट त्यतिवेला आयो, जब लिम्बुका आफन्तले होटलको क्लोज सर्किट (सीसी) टिभीको फुटेज हेरे । हिरासतमा भेट्न जाने समक्ष श्रेष्ठले आफूलाई ‘कस्तुरीको विना’ भन्ने चिजै थाहा नभएको र फसाउन खोजिएको बताए । त्यसपछि परिवारका सदस्यहरुले होटलमा गएर सञ्चालकहरुसँग कुरा गरेका थिए, वरिपरिका सीसी टीभी फुटेज हेरेका थिए ।

    सीसी टीभी फुजेटले देखायो बदनियत

    फुटेजमा उनी पक्राउ परेको दिन दिउँसो १ः३५ बजे होटलबाहिर मोटरसाइकल पार्क गरेर भित्र छिरेको देखिन्छ । उनी साँझसम्म होटलभित्रै बस्छन्, वेलावेला बाहिर निस्किँदै फेरि होटलतिर प्रवेश गर्दै गरेको दृश्य पनि फुटेजमा देखिन्छ ।

    तर साँझ ५ः४० बजे कालो पाइन्टर ‘विन्ड सिटर’ लगाएका एक युवक उनको बुलेट मोटरसाइकल छेऊमा पुग्छन् । गोजीबाट एउटा रातो झोला निकालेर भित्र हालिदिन्छन् । त्यति गरेर ती युवक नजिकै रहेको एभरेष्ट मम सेन्टरतिर छिरेको देखिन्छ ।

    साँझ ६ः०६ तिर मोटरसाइकल धनी लिम्बु बाहिर निस्किन्छन् । त्यही बेला सादा पोशाकका प्रहरी पनि मोटसाइकल वरिपर हुन्छन् र उनी पक्राउ पर्छन् । सीसी टीभी फुटेज सार्वजनिक नहुञ्जेल प्रहरीले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

    तर जब फुटेज सार्वजनिक भयो, त्यसपछि प्रहरीले सुराकी दिने नारायण कार्की भन्ने कृष्ण श्रेष्ठ र सुवास भन्ने आदम राईलाई खोजी गर्न थाल्यो । त्यसक्रममा कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेपछि बयान दिने क्रममा उनले सुवास राईको निर्देशनमा कस्तुरीको विना राखिदिएको बयान दिएको एसपी राठौर बताउँछन् ।

    सुराकी र पक्राउ परेका व्यक्तिबीच थियो विवाद

    ‘राई र पक्राउ परेका शिव लिम्बुबीच आपसी झगडाको कारणले बदलाको भावनाबाट राईले अर्का व्यक्तिलाई पनि पक्राउ गरेर घटना गराएको देखिएको छ’ एसपी राठौर भन्छन्, ‘यसमा प्रहरीलाई सूचना प्राप्त भए पश्चात कानूनसम्मत रुपमा प्रहरी कारबाही गर्नुपर्ने दायित्व अन्तरगत प्रहरी कारबाही भएको हो, प्रहरीका तर्फबाट कुनै बदनियत र शंकास्पद भूमिका छैन ।’

    एसपी राठौरका अनुसार सुवास राई र पक्राउ परेका लिम्बुबीच जग्गा सम्बन्धी कारोबारमा विवाद थियो ।

    तीन महिनाअघि राईले मादक पदार्थ सेवा गरेर लिम्बुको मोबाइलमा फोन गरेर गालीगलौज गर्दै घरमा आएर सिध्याइदिने धम्की दिएको पीडित लिम्बुको भनाइ छ । त्यही विषयलाई लिएर लिम्बुले कपनको एक स्नोकर हाउसमा सुवास राईलाई कुटपिट गरेको पनि खुलेको प्रहरीको भनाइ छ ।

    यही कुटपिटको विषयलाई लिएर नारायण कार्कीसँग मिलेर बाघको छाला, कस्तुरीको विना राखेर लिम्बुलाई फसाएर बदला लिनुपर्छ भनेर योजना बनाएको प्रहरीको भनाइ छ । मुख्य योजनकार सुवास राई अझैसम्म फरार छन् । लिम्बुलाई चाहिँ थुनामुक्त गर्न प्रहरीले प्रक्रिया थालेको छ ।

    बरामद कस्तुरीको विना जस्तो देखिने वस्तुको जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउँदा बरामद वस्तु नक्कली भएको पनि फेला परेको स्रोतको भनाइ छ । घटनाबारे अनुसन्धानका लागि प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेको नेतृत्वमा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द र अर्का एकजना अधिकृत सदस्य भएको समिति गठन गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ