काठमाडौँ। बागमती प्रदेशसभा बैठक आज बस्दै छ ।
गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरे लगत्तै अनिश्चित कालका लागि स्थगित गरिएको प्रदेशसभाको चालु दशौं अधिवेशनको २५ औं बैठक आज बस्ने भएको हो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । आजको प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकहरु माथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुख्यतः संसद्मा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विद्येयक–२०७९ माथि छलफल हुने कार्यसूची रहेको छ । सचिवालयले बैठकमा सहभागि हुन सबै सांसदहरुलाई सूचना जारी गरिसकेको जनाएको छ ।
आजको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसदहरु अनुपस्थित हुने भएका छन् । पूर्व निर्धारित कार्यतालिका अनुसार पार्टीको आन्तरिक कार्यक्रम र बैठक राखिएकाले प्रदेश सभाको बैठकमा एमालेका सांसदहरु अनुपस्थित हुने भएका हुन् ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको बैठकमा उपस्थित हुनुपर्ने भएकाले अधिकांश सांसदहरु हाउसमा उपस्थित हुन नसक्ने जानकारी दिए ।
एमालेले आधिकारिक रुपमा संसद् बैठक बहिस्कार नगरेको तर बहुमत सांसदहरु पार्टीको बैठक र कार्यक्रममा सहभागि हुनुपर्ने भएकाले अनुपस्थित रहने उनले बताए । समय अनुकुल हुने एमालेका सांसदहरु बैठकमा सहभागि हुने उनको भनाइ छ ।
प्रतिक्रिया