• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    बागमती प्रदेश युवा नीतिको मस्यौदा तयार

    369
    SHARES


    काठमाडौँ। वाग्मती प्रदेश सरकारले ‘प्रदेश युवा नीति–२०७९’को मस्यौदा तयार पारेको छ ।

    युवालाई प्रदेश विकासको मूलप्रवाहमा ल्याई सामाजिक न्याय, मानवीय, आर्थिक र भौतिक विकास सुनिश्चित गर्न युवाको गुणात्मक क्षमता विकास गरी गतिशीलता र सिर्जनशीलताको पर्यायका रुपमा स्थापित गर्नका लागि नीतिको मस्यौदा तयार पारेको हो ।

    बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको नीतिका बारेमा आज सरोकारवालाबीच छलफल गरिएको छ । छलफलमा युवामन्त्री रत्न ढकालले युवा नीतिलाई युवाका विकासको संवाहकको रुपमा तयार गरिने बताए । उनले प्रदेश सरकारले युवा क्षेत्रमा उल्लेखनीय काम गरिरहेको भन्दै युवा नीतिले युवाका समस्या समाधान तर्फ केन्द्रित हुने बताए ।

    “हिजो हामी युवाका जुन कुरा उठाइरहेका थियौँ । आज त्यही कुरा सम्बोधन गर्ने ठाउँमा रहेका छौँ” उनले भने, “नीतिले प्रदेशमा रहेका स्रोत साधन प्रयोग गरी युवालाई आत्मनिर्भर बनाउने खालको रहने छ ।”

    अहिले रहेका बेरोजगार युवालाई अवसरको रुपमा लिनुपर्ने भन्दै उनले युवाबाट सरकारले धेरै भन्दा धेरै लाभ लिनसक्ने बताए । नेपाली काँग्रेस वाग्मती प्रदेशका संसदीय दलका नेता राधा घलेले युवा नीति व्यहारमा उतार्ने खालको हुनुपर्ने बताए । अहिलेका युवाका समस्यालाई ध्यानमा राखी नीति बन्ने पर्ने उनको भनाइ रहेको थियो ।

    राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रदेश तहमा युवाको नेतृत्व विकास गर्नका लागि नीतिले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले युवा नेतृत्वको सशक्तीकरणका लागि संघ, प्रदेश र स्थानीय तहमा युवाका संरचना बनाइ युवाको क्षेत्रमा काम गर्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का नेता तथा अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले युवा नीति कार्यन्वयन गर्ने खालका बनाउनुपर्नेमा जोड दिए ।

    उनले प्रदेश सरकारको क्षमता, योग्यताअनुसार युवालाई नेतृत्व विकास गर्ने खालका कार्यक्रम नीतिमा हुनुपर्ने बताए । माओवादी केन्द्रका नेता तथा अनेरास्ववियु (क्रान्तिकारी)का पूर्व अध्यक्ष हिमाल शर्माले युवामा सकारात्मक भावनाको विकास गरी नेपाली माटो सुहाउँदो जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

    नेकपा (एमाले)का केन्द्रीय सदस्य माधव ढुङ्गेलले युवा नीति युवाका मुद्दा समेट्न खालका हुनुपर्ने बताए । उनले नीतिमा रहेका कार्यक्रमलाई कार्यन्वयनतर्फ लैजान अनुसार बनाउनुपर्ने धारणा राखे ।अनेरास्ववियुका अध्यक्ष सुनिता बराल, अनेरास्ववियूका महासचिव आरती लामा, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एलिजा ढकाल लगायतले युवा विद्यार्थीलाई राज्यले सही रुपमा सदुपयोग गर्न सक्ने हो भने मुलुकको समृद्धि चाँडै हुने बताए । उनीहरुले युवामा भएको क्षमता, सीप र ज्ञानलाई चिन्नुपर्ने बताए ।

    बागमती प्रदेशका प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले मस्यौदालाई चाँडै नै अन्तिम रुप दिएर सार्वजनिक गर्ने बताए । वाग्मती प्रदेशमा १६ देखि ४० वर्षका युवाको सङ्ख्या प्रदेशको जनसङ्ख्याको ३५.७९ प्रतिशत रहेका छ । मस्यौदामा युवाको सामाजिक, आर्थिक, राजनीति र विकास निर्माणमा नेतृत्व विकास गर्न वाग्मती प्रदेशमा १३ वटै जिल्लाका एक हजार युवालाई नेतृत्व विकास तालिम प्रदान गरिने छ ।

    मस्यौदामा युवाको नेतृत्वको विकास गर्नका लागि ‘युवा नेतृत्व मञ्च’, ‘युवा सेल’ ‘युवा उद्यमी सञ्जाल’ ‘प्रदेश रोजगार बैंक’ जस्ता कार्यक्रम राखिएका छन् । यस्तै नीतिको मस्यौदामा प्रदेश सरकारबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रमको दोहोरोपनलाई शून्यमा झारी युवा सम्बन्धी नीति, कार्यक्रम र बजेट निर्माणमा समन्वयात्मक भूमिका खेल्दै प्रदेश सरकारबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रमलाई नतिजामुखी बनाइने छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ