• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    बाबुराम भट्टराई अझै वैकल्पिक राजनीतिको खोजीमा

    312
    SHARES


    काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईका अनुसार देशमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकता/औचित्य सिद्धिएको वा नभएको हैन, बरू बढेर गएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले केही समय यता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुन सकिरहेको छैन । अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं ! युगीन कार्यभार सजिलै/छिटै पूरा हुन्नन् ।’

    अध्यक्ष भट्टराईले अर्को स्टाटसमा यस्तो लेखेका छन्, ‘पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन ! जसपाभित्रको बहसका मुद्दा यी हुन्ः क्षेत्रीय कि राष्ट्रिय पार्टी ? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति ? एकल नेतृत्व कि समावेसी सामूहिक नेतृत्व ? विधिसंगत कि स्वेच्छाचारी कार्यशैली ? बहस नै फुट हैन !’

    त्यतिमात्र होइन, उनले आफ्नो ट्वीटरमा यस्तै सन्दर्भलाई पिन गरेर राखेका छन् । उनले लेखेका छन्, ‘नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन् : १.वैज्ञानिक मानवतावादी विचार; २.भारत, चीन, अमेरिकासँग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध; ३.हिमाल, पहाड, तराई/मधेसका सबै जाति/समुदायको पहिचान/अधिकारको रक्षा; ४.पार्टी र सत्तामा समावेसी/सहभागितामूलक लोकतन्त्र; ५.समावेसी/दिगो समृद्धि ;६. सुशासन/सदाचार ।’

    उल्लेखित भनाइले उनी अझै वैकल्पिक राजनीतिको खोजीमा छन् भन्ने देखिन्छ । त्यसका लागि उनले विभिन्न प्रयोग गरिरहेका छन् । माओवादीलाई लिएर जनयुद्धमा जानु पनि उनको प्रयोग नै थियो । जनयुद्धबाट शान्तिप्रकृयामा आउनु पनि एउटा प्रयोग नै थियो । माओवादी पार्टी छाडेर वैकल्पिक शक्ति निर्माणका लागि नयाँ शक्ति पार्टी खोल्नु पनि उनका लागि एउटा प्रयोग नै थियो ।

    नयाँ शक्तिलाई तत्कालीन संघीय समाजादी पार्टी फोरम नेपालसँग एकीकरण गरी तराई, पहाड र हिमाललाई जोडेर वैकल्पिक शक्ति निर्माण गर्नु पनि उनको नयाँ प्रयोग नै थियो । पछि महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गर्नु पनि उनको प्रयोग नै थियो ।

    ​अहिले जसपाबाट अलग हुने तरखरमा उनी छन् । वैकल्पिक शक्ति निर्माणका लागि अझै एउटा प्रयोग कसरी गर्न सकिन्छ भन्ने गृहकार्यमा उनी लागेका छन् । जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ भन्छन्, ‘बाबुराम भट्टराईकै सोच र लाइनमा देश हिँडेको छ, बाबुरामजीले गर्नुभएको नयाँ नयाँ प्रयोग सानो लाग्ला तर अन्ततः देश त्यही बाटोमा हिँड्ने गरेको छ ।’

    बाबुरामजीले आजपर्यन्त जे गरे, ती सबै नयाँनयाँ प्रयोग नै रहेको उनको भनाइ छ । नयाँ प्रयोग अन्तर्गत डा. भट्टराई पुराना पार्टीमा भने नफर्कने श्रेष्ठले बताए । माओवादी होस् वा एमाले वा जसपा, ती दलहरु आफूमा रुपान्तरण नभएसम्म त्यहाँ फर्किने कुनै चान्स नै नरहेको उनले बताए ।

    त्यसो भए (बाबुराम) के गर्छन् त ? उनको साथमा लामो समय काम गरेका जसपाका कार्यकारिणी सदस्य प्रशान्त सिंह भन्छन्, ‘यसपटक कुनै नयाँ प्रयोग हुने छैन, बाबुरामले जसपा गठन गरेर जुन प्रयोग गर्नुभयो, त्यो पूरा भएको छैन । त्यसमा उहाँ तत्कालका लागि असफल हुनुभयो, अब त्यसैलाई पूरा गर्नुहुन्छ ।’

    अन्ततः नयाँ पार्टी बनाउने मनस्थिति बनिसकेको र नयाँ पार्टी बने पनि जसपा गठन गर्दा जे सोच लिएको थियो, त्यो पूरा नभएकाले त्यसलाई पूरा गर्ने सोचका साथ अगाडि बढ्ने उनले बताए ।

    तीन क्लस्टरको पहिचान, सामूहिक नेतृत्व, विकास सुशासनका जुन कुरा अध्यक्ष भट्टराईले जसपामा प्रयोग गर्न खोजे, जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यो हुन नदिएको नेता सिंहको भनाइ छ । ‘उपेन्द्र यादवले न तीन वटा क्लस्टर स्वीकार गरे, न सामूहिक नेतृत्व स्वीकार गरे,’ उनले भने, ‘विकास, समृद्धिको कुरै गर्न नमानेको देखियो, अब बन्ने नयाँ पार्टीमा यिनै कुराको प्रयोग हुने गरी गृहकार्य भइरहेको छ ।’

    असार २८ र २९ गते बस्ने जसपा (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठकमा यी सबै कुराको बारेमा छलफल हुने उनको भनाइ छ । जसपामा देखिएको समस्या, त्यसको समाधान तथा उपायको बारेमा दुई दिनसम्म छलफल भएपछि नयाँ ढंगबाट कसरी अगाडि बढ्ने भन्ने निर्णयमा पुग्ने उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ