काठमाण्डाै। अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भइनसकेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेकाे छ ।
आज आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस्ताे बताएकि हुन् । एसपीपीबारे मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उनको स्पष्टीकरण थियो ।
उनले भाने , ‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अब हामीलाई मन्त्रिपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । त्यसकाे अध्ययन गरेपछि उपयुक्त समयमा मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्छाैँ । अहिले त्यो पत्र गइसकेकाे अवस्था छैन । जान्छ, तपाईँहरू ढुक्क हुनुहोस् ।’
मन्त्रालयले विगत तीन महिनायता राहदानी लिनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको पनि जानकारी दिएकाे छ । सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रूपमा आवेदन भर्ने व्यवस्था मिलाइएको मन्त्रालयकाे भनाइ छ । राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाइन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको मन्त्रालयकी प्रवक्ता लम्सालले बताए।
यस्तै मन्त्रालयका अनुसार राहदानी विभागबाट असार १५ गतेसम्म चार लाख १६ हजार दुई सय ३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।
प्रतिक्रिया