• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादी केन्द्रीय समिति बैठक- एजेण्डाबाट एमसीसी आउट !

    304
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा हालै सम्पन्न स्थानीय चुनावको समीक्षा र पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रित भएको छ ।

    राजधानीको प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ९ बुँदे एजेण्डा अन्तरगत सात प्रदेशका अध्यक्षहरूले रिपोर्ट पेस गर्ने कार्यसूची रहेको थियो ।

    तर बैठकमा एमसीसीबारे छलफल हुने अपेक्षा गरिए पनि एजेण्डामा सो विषय परेको छैन । यसअघि बसेको केन्द्रीय समिति बैठकले एमसीसीबारे अर्को बैठकमा छलफल हुने निर्णय गरेको थियो । तर, लामो समयपछि बसेको केन्द्रीय समिति बैठकमा सो विषयलाई छलफलकै विषय नबनाइएको हो।

    रिपोर्ट पेस गर्ने क्रममा सम्बन्धित प्रदेशका अधिकांश अध्यक्षहरूले गत स्थानीय निर्वाचनमा पार्टीकै जिम्मेवार नेता कार्यकर्ताबाट अन्तर्घात भएको, गुटबन्दी मौलाएको तथा बागी उम्मेदवारी दिने प्रवृत्ति देखिएको बताएका हुन् । उनीहरुले सत्ता गठबन्धनबाटै पनि पार्टीका कतिपय उम्मेदवारलाई भोट हाल्ने काम नभएको रिपोर्ट पेस गरेका छन् ।

    उनीहरुले एमसीसीका बारेमा पार्टी स्पष्ट हुन नसकेको, पदाधिकारीको चयनमा ढिलाइ भएको, संगठन निर्माण प्रभावकारी नभएको विषय पनि औँल्याए भने आगामी चुनावमा पार्टी कसरी जाने भन्नेबारेमा पनि ठोस योजना जरुरी रहेकोमा जोड दिएका छन् । बैठकमा जिम्मेवारी सही ढङ्गले नदिएको गुनासो पनि उठेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेशको रिपोर्टिङ गर्दै अध्यक्ष हरिराम चौधरीले पार्टीभित्र जिम्मेवारी दिँदा सही मान्छेलाई सही ठाउँमा दिनुपर्नेमा जोड दिए । उनले अन्य प्रदेशमा जस्तै सुदूरपश्चिम प्रदेशमा गुटबन्दी रहेको भन्दै त्यसको उचित समाधान जरुरी रहेको बताए ।

    गुटबन्दीका कारण कतिपय स्थानीय तहमा आशाअनुसार नतिजा आउन नसकेको चौधरीको भनाइ थियो । उनले पार्टीको नेतृत्व रहेको सुदूरपश्चिम प्रदेश सरकारको कामकारबाही सन्तोषजनक हुन नसकेको भन्दै केन्द्रको ध्यानाकर्षण हुन जरुरी रहेको पनि बताए ।

    यसैगरी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीमा अराजकता मौलाएको बताइन् । उनले स्थानीय तह निर्वाचनमा अन्तर्घात कर्णालीमा पनि भएको उल्लेख गर्दै पार्टीभित्रको अराजकतालाई बेलैमा नियन्त्रण गरिनुपर्नेमा जोड दिइन् । पार्टीमा हारको जिम्मेवारी लिने परिपाटी नभएको उल्लेख गर्दै उनले कर्णालीमा आशातीत नतिजा आउन नसकेकोमा आफूले भने जिम्मेवारी दिन तयार रहेको बताइन् ।

    ‘पार्टीमा अन्तर्घात भएको छ । समस्याहरू भएका छन् तर जिम्मेवारी लिने प्रवृत्ति छैन’, उनले भनिन्, ‘मैले कति जिम्मेवारी लिनुपर्ने हो लिन्छु । म घटुवा हुन पनि तयार छु ।’ उनले कर्णालीमा गत स्थानीय निर्वाचनमा गठबन्धनमा पनि गडबड भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सही ढङ्गले तालमेल र गठबन्धन हुनुपर्नेमा जोड दिइन् ।

    सहयात्रीले भने– पदाधिकारी चयन गरियोस्

    यसैगरी बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले माओवादी पार्टी भावुक भएको टिप्पणी गरे । कसैले रोइकराई गरेकै आधारमा योग्यता नभएका नेताहरू पनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आएको उनले नेतृत्वप्रति कटाक्ष गरे ।

    ‘माओवादी पार्टी भावुक पार्टी बनेको छ । कोही रोइदियो भने केन्द्रीय सदस्य बन्ने अवस्था छ’, उनले केन्द्रीय समिति बैठकमा भनेको एक नेताले बताए । उनले तत्काल पदाधिकारी चयनमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।

    प्रचण्डले ३ दिनमा बैठक सक्ने बताएपछि उनले ५ दिन लगाएर भए पनि पदाधिकारी चयन गरिनुपर्ने धारणा राखे । साथै स्थायी कमिटी, पोलिटब्युरोलगायत पनि गठन गरिनुपर्नेमा उनले जोड दिए । उनले पार्टीमा बेतिथि मौलाएको भन्दै त्यसको बेलैमा हल खोजिनुपर्नेमा जोड दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ