काठमाडौँ । विनोद शाही हत्या प्रकरणमा किटानी जाहेरी परेको झन्डै १ महिना पुग्नै लाग्दा अछामको पञ्चदेव विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेले प्रहरीसामु आत्मसमर्पण गरेकी छिन ।
सञ्चारकेन्द्रसंगको कुराकानीमा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले शनिबार साँझ मेयर चलाउने जिप्रका अछामसामु आत्मसमर्पण गरेको पुष्टि गरेका छन् ।
‘उहाँ हिजो साँझ आफै प्रहरी कार्यालयमा उपस्थित हुनुभएको हो । हाम्रै नियन्त्रणमा हुनुहुन्छ ।’ डिएसपी नारायण डाँगीले सञ्चारकेन्द्रसंग भने- ‘ हामीले अनुसन्धान गरिरहेका छौं ।’
चलाउनेसंगै थप एक जनाले पनि आत्मसमर्पण गरे पनि प्रहरीले बिस्तृतमा जानकारी दिन मानेन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले पहिलो चरणमा २ जना दोस्रो चरणमा ३ जना र तेस्रो चरणमा चलाउनेसहित २ जना गरी ७ जना नियन्त्रणमा छन् । अझै ६ जना भने फरार छन् ।
पञ्चदेव विनायक नगरपालिकावडा नम्बर ४ का विनोद शाहीको हत्यामा संलग्नता रहेको भन्दै परिवारले जेठ अन्तिम साता चलाउनेबिरुद्ध किटारी जाहेरी दिएका थिए । प्रहरीले शाहीको हत्या प्रकरणमा चलाउनेबिरुद्ध किटानी जाहेरी दर्ता गरेसँगै परिवारले शव बुझेका थिए।
मेयर चलाउनेको निर्देशनमै गत जेठ १७ गते राति गाउँमा प्रहरी पठाएर स्थानीयमाथि कुटपिट गरेको र सोही रातबाट १५ बर्षीय विनोद शाही बेपत्ता भएकाे स्थानीयले बताउदै आएका छन् ।
जेठ २१ गते विनोदको शव भेटिएको थियो । परिवारले मेयर चलाउनेकै योजनामा हत्या भएको भन्दै किटानी जाहेरी दिएका हुन् । तर, प्रहरीले सुरुमा जाहेरी दर्ता नगरेपछि केही दिनदेखि विनायकको अवस्था तनावपूर्ण समेत बनेको थियो ।
स्रोतका अनुसार हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ। अम्बिकासँगै जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही र वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सर्जन शाहीलगायतलाई पनि किटान गरिएको छ।
जाहेरीमा मेयर चलाउने र स्थानीय नेत्र शाहीको योजना र निर्देशनमा विनोदको हत्या गरिएको र अरु संलग्न भएको दाबी गरिएको छ । स्थानीय बखत बहादुर शाहीले विनोदलाई जेठ १७ गते राति स्थानीय रामबहादुर शाहीको घरभित्र कुटेर हत्या गरिएको दाबी गरेका छन् ।
हत्यापछि तीन दिनसम्म उक्त घरमा ताला लगाएर शव राखिएको उनको भनाइ छ । तेस्रो दिनको राति शव लगेर भिरमा खसालेको पीडित परिवारको आरोप छ ।
त्यसैगरी प्रहरीमा दर्ता गरिएको जाहेरीमा किटान गरिएकाहरू वडा नम्बर ४ कुच्चीकै रामबहादुर शाही, नेत्र शाही, द्रोपती शाही, शान्ति शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, कर्णबहादुर शाही, देवेन्द्र शाही, अक्कल शाही र पृथ्वी शाही रहेको बताइएको छ ।
बैशाख ३० गते मतदानको क्रममा भएको विवादलाई लिएर जेठ १६ गते कुच्चीगाउँमा नेपाली काँग्रेस र नेकपा एमालेका युवाहरुबीच झगडा भएको थियो। १७ गते मध्यरात प्रहरी गाउँमा पसेर लछारपछार गरेको थियो । त्यही रात विनोद बेपत्ता भएका थिए ।
प्रतिक्रिया