• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    प्रतिनिधि सभा बैठकको विशेष समयमै किन आक्रोशित भय शेरबहादुर तामाङ?

    234
    SHARES


    काठमाडौँ। नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजासम्बन्धि विधेयक अघि बढाउँन माग गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विधेयक दर्ता गरेको ८ सय ९६ दिन भइसकेको भन्दै सो विधेयक अघि बढाउन माग गरे ।

    संसदमा सांसदले उठाएको विषयहरुमध्ये ८ प्रतिशतमात्र कार्यान्वयन हुने गरेको बताउँदै उनले संसदले गर्नुपर्ने काम पनि नभएको गुनासो गरे । संसदमा जति मात्रामा मन्त्रीले विधेयक ल्याउन पाउँछ त्यति नै मात्रामा सांसदले पनि गैर सरकारी विधेयक दर्ता गर्न पाउने अधिकार रहने स्मरण गराए । आफूले दर्ता गरेको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ साल फागुन १९ गते क्रम संख्या ४ मा दर्ता गरेको बताए । विधेयक दर्ता भएको ४ दिनभित्र सबै सांसदहरुलाई वितरण गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले विरोधका सूचना दर्ता गर्न पाउने, ७ दिन कटेपछि संसदमा छलफलका लागि ल्याउनुपर्ने व्यवस्था रहेको स्मरण गराए ।

    प्रतिनिधिसभा नियमावलीमा रहेको व्यवस्थाहरुको स्मरण गराउँदै उनले आफूले पाउने अधिकार समेत कार्यान्वयन नभएकोमा सभामुखसँग गुनासो गरे । उनले नेपालीहरु बेरोजगार भएका कारण विदेशबाट बाकसमा आउनुपर्ने अवस्था रहेको, ४५ डिग्रीको तातोमा काम गर्न बाध्य भएको, देशका ठूलो जनशक्ति अरु देशको समृद्धिका लागि काम गरिरहेको बताए ।

    उनले भने–‘यस्तो अवस्थाले धेरैको मन पोल्छ । नेपालमै गाँजा खेतीबाट केही गर्न, नेपाली युवाहरुलाई पैसा खोज्न विदेश जाने हैन, नेपालमै पैसा कमाउन सकिन्छ भन्ने बनाउनका लागि यो विधेयक संसदमा दर्ता भएको हो । मैले गाँजा नै सबै समृद्धि भनेको छैन, समृद्धिको प्रस्थानविन्दु त हुन सक्छ । देश कहिलेसम्म अभावमा बाँच्ने हो, कहिलेसम्म ऋण लिएर बाँच्ने हो ? हामीसँग भएको संभावनाको खोजी किन नगर्ने ?’

    उनले गाँजा लागू औषध नभएको भन्दै नेपालले पनि २०७६ सालमा संयुक्त राष्ट्रसंघको सि एण्ड डिमा गाँजाको पक्षमा भोट हालेको र अब गाँजा हानिकारक लागू औषध नभई औषधीय गुण भएको वनस्पतिको रुपमा रहेको बताए । उनले आफूले दर्ता गरेको सो विधेयक कहिले अगाडि बढ्छ, कहिले पास हुन्छ भनेर प्रतिनिधिसभाका सांसदहरुले सोध्ने गरेको बताउँदै सांसदहरु पनि गाँजा फुकुवा गर्नुपर्ने पक्षमा रहेको बताए । उनले सो विधेयकलाई छिटो अगाडि बढाउन माग गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ