अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेको दादागिरी सुरु भएको छ । बैशाख ३० गते चुनावको दिन भएको विवादलाई लिएर अम्बिाकले जितेपछि प्रतिशोध साट्न थालेको आरोप लागेको छ । चुनावको दिन नगरपालिकाको वडा नम्बर ४ मा नेपाली काँग्रेस र नेकपा एमालेबीच मतदानको विषयलाई लिएर विवाद भएको थियो ।
मेयरमा निर्वाचित भएपछि अम्बिकाले उक्त घटनाको बदलास्वरुप नयाँ विवाद झिकेको स्थानीय एमालेका नेताहरुका आरोप छ । मेयर चलाउनेकै निर्देशनमा यही जेठ १७ गते कालिकास्थानस्थित गाउँमा मध्यरात प्रहरीले गएर कुटपिट गरेको थियो । प्रहरीले गर्भवती, सुत्केरीलाई समेत कुटपिट गरेकै समयमा एक किशोर बेपत्ता भएका थिए ।
नेकपा एमालेका पूर्व जिल्ला सदस्य बलबहादुर शाहीका १६ बर्षीय छोरा विनोद सोही राति हराएका थिए । प्रहरीले महिलामाथि कुटपिट गर्न थालेपछि रोक्न गएका विनोद एकाएक बेपत्ता भएका थिए । उनलाई काँग्रेस कार्यकर्ताहरुले अपहरण गरेको एमालेले आरोप लगाउँदै आएको थियो ।
घरबाट करिब २ सय मिटर टाढा पञ्चदेवल क्याम्पस नजिकै विनोदको शव शनिबार विहान भेटियो । परिवार र स्थानीले दोषीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पुग्दा प्रहरीले गोली चलाएको छ । प्रहरीले ९ राउण्ड गोली चलाउनुको साथै अश्रुग्यास प्रहार गरेको थियो ।
मेयर चलाउनेकै आग्रहमा सदरमुकाम मंगलसेन र कमलबजारबाट प्रहरी गएर गाउँमा प्रवेश गरी कुटपिट गरेको भन्दै अन्य राजनीतिक पार्टीका नेताहरुले विरोध गरिरहेको बेला विनोदको शव भेटिएपछि थप तनाव उत्पन्न भएको हो ।
कालिकास्थान घटनापछि मेयर अम्बिाका, सर्जन शाही र सुरतबहादुर विष्ट रातारात मंगलसेन पुगेर विनोदसहित एमाले समर्थकविरुद्ध ज्यानमार्ने उद्योगको उजुरी दिएकी थिइन् । तर, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासनीले उजुरी लिएनन् ।
स्रोतका अनुसार मरासनीले तपाई हालै निर्वाचित जनप्रतिनिधि भएकाले आफैले उजुरी दिने हैन विवाद मिलाउने हो भनेपछि चलाउने बिनायक फिर्ता भएको बताइएको छ । चुनाव जितेपछि आफूलाई भोट नहाल्नेलाई ठिक पार्ने भन्दै अम्बिकाले धम्की दिने गरेको बताइएको छ ।
कसरी भयो घटना ?
बैशाख ३० गते मतदान क्रममा नेपाली काँग्रेस र नेकपा एमालेबीच विवाद भएको थियो । विवादले झडपको रुप लिएपछि मतदान केही घण्टा रोकिएको थियो । पछि पुनः मतदान सुचारु गरिएको थियो ।
उक्त विवाद सामान्य हुँदै गएको थियो । मेयरमा नेपाली काँग्रेबाट अम्बिका र उमेयरमा काँग्रेसकै हर्क रावल निर्वाचित भए । विवाद भएको ४ नम्बर वडा पनि काँग्रेसले नै जित्यो ।
चुनाव जितेर सफथग्रहण गरिसकेपछि मेयर अम्बिकाले पुरोना घटनाबारे छलफल सुरु गरेको आरोप अन्य राजनीतिक पार्टीका नेताहरुको छ । त्यही अन्तरगत यही जेठ १७ गते राति १२ बजे प्रहरीले प्रवेश गरेर स्थानीय महिलालाई कुटपिट गर्यो । त्यसको विरोध गर्नेमाथि प्रहरीले लाठी र बुट प्रहार गरेको भिडियो सार्वजनिक भएको छ ।
प्रहरीले महिलालाई लछारपछार गर्न थालेपछि विनोद लगायतका युवाहरु प्रतिरोधमा उत्रिए । त्यही बेला नेपाली काँग्रेसका कार्यकर्ताहरुले विनोदलाई अलग्गै लगेर गएका थिए । त्यसपछि विनोद रातिबाट हराए ।
प्रहरीकै अगाडि विनोद हराएपछि परिवारले खोजी कार्य गर्न माग गरेका थिए । १७ गते राति बेपत्ता विनोद शनिबार मृत अवस्थामा भेटिएपछि थप तनाव सुरु भएको थियो ।
दोषीलाई कारवाहीको माग गर्दै अहिले पनि परिवार र स्थानीले विरोध गरिरहेका छन् । प्रहरीले उनीहरुमाथि ९ राउण्ड गोली प्रहार गर्नुको साथै गर्नुको साथै अश्रुग्यास समेत हानेको छ ।
विनोद नेकपा एमालेका पूर्वजिल्ला सदस्य बलबहादुर शाहीका छोरा हुन् । १६ वर्षीय विनोद कक्षा १० मा पढ्दै थिए । विनायक नगरपालिकामा यसअघि पनि वडाअध्यक्षको हत्या गरिएको थियो । नेपाली काँग्रेसबाट वडा नम्बर २ बाट निर्वाचति वडाअध्यक्ष पदम बहादुर धामीको हत्या भएको थियो ।
प्रतिक्रिया