• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    ऐतिहासिक विशेष राष्ट्रिय भेलाको नयाँ सन्देश

    1.6K
    SHARES


    सन्दर्भ
    आज दलाल पुँजीवादी संसदीय व्यवस्थाको सङ्कट पराकाष्टामा पुगेको छ । दुनियाँमा एक हजार वर्ष तथा आधुनिक इतिहासमा करिब पाँच सय वर्ष पुरानो र नेपालमा करिब चार दशक लामो इतिहासमा संसदीय व्यवस्था पूर्णतः बदनाम साबित भएको छ । आज दलाल पुँजीवादी संसदीय व्यवस्था सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले बदनाम र सङ्कटग्रस्त भएको छ । संसद्वादीहरूले कथित स्थानीय चुनावद्वारा त्यसलाई सुदृढ गर्ने कुचेष्टा गरेका छन् । संसद्वादीहरू यो व्यवस्था र आफ्नो सङ्कटलाई देश र जनताको सङ्कट बताइरहेका छन् । यो व्यवस्थाको सङ्कट, संसद्वादी पार्टीहरूको तेजोभङ्ग र व्यक्तिहरूको अक्षमता पटकपटक पुष्टि भइसकेको छ । कमरेड लेनिनको संश्लेषणमा यो दलाल पुँजीवादी संसदीय व्यवस्था ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ मात्र होइन, कुकुरको टाउको राखेर कुकुरकै मासु बेच्ने पसलमा बदनाम भएको छ । आमजनताले धेरैपटक व्यक्ति र पार्टीलाई संसदीय चुनावमा निर्वाचित गरेकै हुन् । यो व्यवस्था, पार्टी र व्यक्तिलाई आज आमजनताले छिःछिः र दुरदुर गरिरहेका छन् । आज संसदीय व्यवस्थाको वडा, गाउँ, नगरको चुनावमा भोट किनबेचको चर्को प्रतिस्पर्धा एवम् असीमित दररेट चल्यो । हरेक भोटको पैसा तोकिन्छ ।

    मतदाताहरू मात्र होइन, सरकार गठन र विघटनका लागि किनबेचको बेलगाम खेल चल्छ । कथित जनप्रतिनिधिहरूलाई मालामालको जागिर, चरम भ्रष्टाचार, मनग्गे कमिसन र चर्को करका रूपमा यो व्यवसाय देखापरिरहेको छ । महान् लेनिनले भनेझैँ कुनै पनि चुनाव ‘मुठीभर पुँजीपति वर्गले बहुसङ्ख्यक जनतामाथि शोषण गर्ने लाइसेन्स हो ।’ कथित जनप्रतिनिधिहरूले पुनः ५ वर्षका लागि त्यो व्यवसायको अनुमतिपत्र नवीकरण गरेका छन् । संसदीय व्यवस्थाको सङ्कटको समाधान संसदीय व्यवस्था हुनै सक्दैन । वैज्ञानिक समाजवादः अद्वितीय विकल्प र सम्पूर्ण समाधान हो । दलाल पुँजीवादी संसदीय व्यवस्था कमरेड माओले भनेझैँ ‘छिटोछिटो डुब्दै गइरहेको मरणशील मान्छे, पश्चिममा पहाडतिर अस्ताउन लागेको सूर्यझैँ छ र यसलाई छिट्टै अजायब घरमा लगेर राखिनेछ । साम्यवादको विचारधारात्मक र सामाजिक व्यवस्था मात्रै आज सुन्दर जवानीले भरिभराउ छ । यो पहाड पन्छाउने र समुद्र पल्टाउने गति र बज्रको शक्ति लिएर संसारमा फिँजिँदैछ ।’ पहिलोपटक पृथ्वीको विशाल भूभागमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल अक्टोबर क्रान्ति, एसियाको विशाल भूमिमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न विजयी चिनियाँ क्रान्तिलगायत क्रान्तिहरू प्रतिक्रान्तिमा बदलिएको विश्वमा हामी खडा भएका छौँ । दलाल पुँजीवादी संसदीय व्यवस्थाको खरानीमा वैज्ञानिक समाजवाद– साम्यवादको स्थापना अवश्यम्भाबी हुनेछ ।

    महान् आशा र सुन्दर सपना

    सपनाको चिहान हुँदैन किनभने सपनाको मृत्यु नै हुँदैन । भावना र खिन्नताभन्दा बोध र सङ्कल्पले नै सपनालाई साकार पार्न सकिन्छ । पाठ सिक्न र असल पक्षहरूलाई लिएर काम गर्न जरुरी छ । ‘सपना ती होइनन्, जो सुतेर देखिन्छन् । सपना ती हुन् जसले सुत्न दिँदैनन्’, एपीजे अब्दुल कलामले भनेझैँ क्रान्तिकारीहरू सुतेर सपना देख्दैनन् र क्रान्तिकारीहरूका सपनाहरूले सुत्न दिँदैनन् । कमरेड माओको शब्दमा ‘हाम्रो राष्ट्रको भविष्य र विकासका निम्ति ठूलो आशा गर्ने ठाउँ छ । निराशावादी हुनुपर्ने त्यस्तो कुनै कारण छैन । निराशावादी हुनु भूल हो ।’ हामीसँग महान् सपना एवम् आशा छ । धूमिल होइन, सुन्दर सपना छ । चानचुने होइन, महान् आशा छ । हाम्रो सपना काल्पनिक र रोमान्स गर्ने होइन, जीवन्त र व्यावहारिक छ । हामी मनोगतवादी र रूपवादी होइनौँ, यथार्थवादी हौँ किनभने महान् माओले भनेझैँ ‘एउटा क्रान्तिलाई अर्को क्रान्तिले पछ्याउँछ, क्रान्ति निरन्तर चल्छ’ हाम्रो महान् सपना एवम् आशा नै क्रान्तिको विजय हो । क्रान्ति नै हाम्रो जीवन र भविष्य हो ।

    विद्रोह किन ?
    केही मानिसहरू निर्लज्जतापूर्वक भन्छन्– सहिदेऊ एवम् पर्खिदेऊ तर सम्भव रहेन । हामीले पार्टी र समितिभन्दा माथि सिंहासन एवम् विराजमान सम्राट्का विरुद्ध विद्रोह गर्नु माक्र्सको शब्दमा आकाशका विरुद्ध धावा हो । हरेक मानिसको चाहना असफलताभन्दा सफलता, पराजयभन्दा विजय, विभाजनभन्दा एकता, निराशाभन्दा आशा, अविश्वासभन्दा विश्वास, दुःखभन्दा सुख, विछोडभन्दा मिलन, मृत्युभन्दा जीवन, आलोचनाभन्दा प्रशंसा आदि प्रिय हुन्छ । एउटा व्यापारीको मनग्गे मुनाफा, विद्यार्थीको उत्कृष्ट श्रेणीमा उत्तीर्ण र राजनीतिक पार्टीको बलियो एकता अभिलाषा हुन्छ । हामी चाहन्थ्यौँ क्रान्तिकारी रूपान्तरणसहितको मजबुत पार्टीएकता तर त्यो तत्काल सम्भव भएन । यो सम्भव छ, आगामी दिनमा यो सम्भावनालाई क्रान्तिकारी कम्युनिस्टहरूबीच बृहत् एकतामार्फत वास्तविकतामा बदल्नेछौँ । माक्र्सवादमा हजारौँ सत्यहरू छन्, त्यसलाई एउटै शब्दमा ‘विद्रोह जनताको अधिकार हो’ भनिन्छ ।

    सैद्धान्तिक विचलनले व्यावहारिक भूलमा पु¥याउँछ । जापानी आक्रमण–विरोधी राष्ट्रिय संयुक्त मोर्चाका लागि लाखौँको सङ्ख्यामा जनसमूहलाई आफूपट्टि तान (७ मे, १९३७) मा कमरेड माओले ‘कम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र सम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ, सम्पूर्ण वर्ग र सम्पूर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रिय र जनवादी क्रान्ति पूरा गर्न सकिन्छ’ भनेझैँ दलाल पुँजीवादी संसदीय सत्ताविरुद्ध र नयाँ जनवादी कार्यभारसहितको समाजवादी क्रान्तिका खातिर विद्रोह पनि क्रान्तिकारीहरूको एकताको नयाँ आधार हो । एउटा क्रान्तिलाई अर्को क्रान्तिले पछ्याउनु निरन्तर क्रान्ति हो । यो विद्रोह मात्र होइन, पुनर्गठन हो । यो वैचारिक, साङ्गठनिक र क्रान्तिको पुनर्गठन हो । यसले सुन्दर सपना साकार र महान् आशालाई विश्वासमा रूपान्तरण गर्नेछ ।

    क) तीनबुँदे सहमति पछि आठौँ केन्द्रीय समितिको १० औँ देखि ११ औँ पूर्ण बैठकसम्म जब नेकपाको मुख्य नेतृत्व कमरेड विप्लवले ‘पुँजीवाद कि वैज्ञानिक समाजवाद’ नामक पुस्तिकामा ‘हामीले भुल्नु नहुने अर्को पाटो समाज रूपान्तरणको शान्तिपूर्ण मार्ग पनि छ । शान्तिपूर्ण रूपान्तरणलाई सर्वस्वीकार्य बनाउन प्रयोग हुने माध्यममध्ये जनमतसङ्ग्रह एउटा हो । कुनै एक वर्ग, समुदाय वा समूहका मात्र होइन, सारा नागरिकहरू यो व्यवस्था र प्रणाली असफल भयो, यसको विकल्पमा परिवर्तन चाहिन्छ भन्ने ठाउँमा पुगेका छन् । यो विरलै पैदा हुने जनमत हो । राज्यले यो जनमतलाई सहज तरिकाले आत्मसाथ गर्न तयार हुने हो भने शान्तिपूर्ण रूपले राज्यको रूपान्तरण सम्भव देखिन्छ । पुँजीवाद वा वैज्ञानिक समाजवाद भन्नेमा जनताको फैसला मान्न हिचकिचाउनु पर्दैन । जनमत पालना गर्न तयार हुँदा शान्तिपूर्ण रूपान्तरणको सम्भावना छ ।

    आज नेपालमा दशकौँदेखि चलेका वर्गसङ्घर्ष, राजनीतिक सङ्घर्ष, सशस्त्र विद्रोह, जनयुद्ध, एकीकृत जनक्रान्ति र जनताको परिवर्तनकारी चाहनाको विशिष्ट वस्तुस्थितिमा शान्तिपूर्ण जनमतद्वारा दलाल पुँजीवादी सत्तालाई वैज्ञानिक समाजवादमा रूपान्तरण गर्न सकिने सम्भावना देखापरेको छ’ भन्ने निष्कर्ष निकाल्नुभयो । त्यसले नै यो विद्रोह एवम् पुनर्गठनका लागि बीजरोपण ग¥यो । लेनिनले शान्तिवादी बुद्धिजीवी महोदयहरूलाई भनेझैँ ‘इतिहासले क्रान्ति त्यतिकै शान्तिपूर्ण, सीधा–सादा र व्यवस्थित तरिकाले ल्याउनेछ जसरी एक जर्मन एक्सप्रेस ट्रेन– स्टेसनमा आइपुग्छ र एक गम्भीर कन्डक्टरले डिब्बाको ढोका खोल्दै घोषणा गर्छ– ‘सामाजिक क्रान्ति स्टेसन, सबै ओर्लनुहोस् !’ उहाँले शान्तिपूर्ण रूपले राज्यको रूपान्तरण सम्भव देखिन्छ भन्नेमा एकीकृत जनक्रान्तिलाई पु¥याउनुभयो । त्यसले माक्र्स–एङ्गेल्स, लेनिन, स्टालिन र माओलाई तेजोबध गर्दैन र ? यो कार्ल काउत्स्कीको शान्तिपूर्ण जनवाद, प्रतिक्रियावादी आदर्श, आर्थिक तत्वहरूका सामान्य प्रक्रिया, गैरमाक्र्सवादी, अवसरवादी, सामाजिक अन्धराष्ट्रवादी प्रवृत्ति होइन र ? यसले ख्रुस्चेभको तीन स, देङ स्याओपिङको उत्पादन बढाऊ, मदन भण्डारीको जबज आदिलाई माथ गर्दैन र ? केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकको नीति र निर्णयविपरीत ‘स्थानीय चुनावलाई प्रयोग गर्ने’ कार्यनीति कि रणनीति ?

    ख) नेकपाको नेतृत्वले ब्रह्माण्ड, मानवसमाज, पार्टीमा लागू हुने ‘विपरीतहरूको एकत्व’ भौतिकवादी द्वन्द्ववादको नियम, पार्टीभित्र दुई लाइन सङ्घर्ष, पार्टीभित्र आलोचना तथा आत्मालोचनाको पद्धतिलाई खारेज, समाजवादीहरू संसद्मा पुगेर संसदीय व्यवस्थालाई निलेपछि वैज्ञानिक समाजवाद शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ भनी दस्ताबेजीकरण गरेको, एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाउँदै यसको ठोस विश्लेषण नगरेको, यसको समग्र सेट र स्टेपहरू सुस्पष्ट नगरेको, निजी स्वामित्व र सामूहिक स्वामित्वको आर्थिक समायोजन गर्ने समन्वयवादी नीति लिएकोलगायत सैद्धान्तिक गल्तीहरू एवम् प्रवृत्ति स्पष्ट रूपमा देखिएका छन् । दार्शनिक रूपले सारसङ्ग्रहवादी, राजनीतिक रूपले संसदीय संशोधनवादी, सङ्गठनात्मक रूपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी अन्ततः उग्रवामपन्थी अवसरवादको उग्र दक्षिणपन्थी अवसरवादमा विचलन भयो भनेर विशेष राष्ट्रिय भेलाले वस्तुवादी संश्लेषण गरेको छ । तसर्थ क्रान्तिकारी सिद्धान्तमा आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नुको विकल्प रहेन ।

    ग) आज दलाल संसदीय व्यवस्थाअन्तर्गतको कुनै पनि तहको निर्वाचन संसदीय व्यवस्थाकै सेवा गर्ने साधन बन्ने र साम्यवादी पार्टीको वैज्ञानिक समाजवाद प्राप्तिका लागि उपयोगी बन्न नसक्ने ‘स्थानीय चुनावलाई प्रयोग गर्ने’ कार्यनीतिले रणनीतिको सेवा गर्ने होइन, गला रेट्ने गर्दछ । नेपाली कम्युनिस्ट आन्दोलन र वैज्ञानिक समाजवादी क्रान्तिमा संसदीय संशोधनवादी रोगले भयङ्कर क्षति पु¥याउने भएकाले, ‘दलाल संसदीय राज्यसत्ताको निर्वाचन आयोगमा दर्ता गरी चुनावमा भाग नलिने, त्यस व्यवस्थाको भण्डाफोर गर्ने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएमा तिनलाई समर्थन गर्न सकिने’ पार्टी नीति र निर्णयविपरीत १८ चैत, २०७८ को प्रशिक्षणमा नेता कमरेड विप्लवबाटै उल्लङ्घन भयो ।

    उहाँकै निर्देशनमा तत्कालीन प्रवक्ता प्रकाण्ड निर्वाचन सार्नका लागि हारगुहार गर्दै निर्वाचन आयोग पुगेर चुनावमा भाग लिने मात्र होइन, बरु मोर्चा कसेर भाग लिने हो र अरू सबै एक भएर आए पनि आफू एक्लैले जित्ने भनी कुर्लिनु, मुख्य नेताले नै तीन लाख वा पाँच मत प्राप्त गर्ने एवम् दुई दर्जनभन्दा बढी स्थानीय निकायमा जित्ने, मनोगतवादी अडकलबाजी गर्नु र स्वतन्त्र उम्मेदवारहरूका लागि देशैभरि केन्द्रीय सदस्यहरूसहित स्थानीय चुनावमा भाग लिनुले विद्रोहको विकल्प नै रहेन । आज संसद्वादी चुनाव कार्यनीति मात्र होइन, बरु रणनीतिक महत्वको कार्यनीति बनेको छ । स्टालिनले ‘यसमा भाग लिनु भनेको नजानिँदो ढङ्गले प्रतिक्रियावादी संसद्लाई सेवा गर्नु, जनसमुदायको क्रान्तिकारी भावनालाई कमजोर पार्नु, जनताको क्रान्तिकारी चेतनालाई धमिलो बनाउनु, कुनै पनि क्रान्तिकारी सङ्गठन निर्माण गर्न असमर्थ हुनु र सामाजिक जीवनको विकासका विरुद्ध जानु हो’ भनेझैँ दलाल संसदीय व्यवस्थाअन्तर्गतको कुनै पनि तहको निर्वाचनले जनक्रान्ति र वैज्ञानिक समाजवादका पक्षमा जनमत हासिल गर्न सकिन्छ भन्नु पुनरावृत्त पागलपन हो ।

    भेलाका मुख्य पक्षहरू
    नेकपाको १२ औँ पूर्ण बैठकपछि ३६ दिन (८६४ घण्टा) पछि विशेष राष्ट्रिय भेला मालेमावादी क्रान्तिकारी सिद्धान्तमा आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने चुनौतीको सामना गर्दै तीन सयभन्दा बढी प्रतिनिधि र ५० भन्दा बढी स्वयम्सेवकको उपस्थितिमा वैशाख २१ देखि २३ सम्म ऐतिहासिक रूपले चितवनमा सम्पन्न भएको छ । केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष कमरेड असारे काकाको अध्यक्षता, सल्लाहकार समितिका सचिव कमरेड पवनको उद्घोषण र अन्तर्राष्ट्रिय गीतबाट विशेष राष्ट्रिय भेलाको उद्घाटन भयो । उक्त भेलालाई राष्ट्रिय भेला आयोजक समितिका सदस्य कमरेड सुदर्शनले स्वागत अभिवादन गर्नुभएको थियो । विशेष राष्ट्रिय भेला आयोजक समितिका संयोजक कमरेड कञ्चनद्वारा प्रस्तुत ‘वैज्ञानिक समाजवादको बाटोमा अघि बढौँ ! संशोधनवाद, संसद्वाद र विसर्जनवादविरुद्ध सङ्घर्ष गराँै !!’ शीर्षकको राजनीतिक प्रतिवेदन पारित गरिएको छ ।

    विचारधारात्मक पक्ष
    विशेष राष्ट्रिय भेलाले माक्र्सवाद–लेनिनवाद–माओवादको सार्वभौम सामाजिक क्रान्तिको विज्ञानको मार्गदर्शनलाई जीवन व्यवहारमा प्रयोग गरिने दृढता गरेको छ । मालेमावादलाई बुझ्ने र बदल्नेमा मात्र सीमित होइन, प्रयोग, विकास र रक्षामा विश्लेषण र संश्लेषण गरेको छ । संसारका हरेक चीजहरूमा अन्तरविरोध विद्यमान हुन्छ । अन्तरविरोध तथा परस्पर विरोधी पक्षहरूको उपस्थिति व्यक्ति, समाज, विचार, चिन्तन, प्रकृति र सङ्गठन सबैमा अनिवार्य हुन्छ । अन्तरसङ्घर्षलाई सही ढङ्गले सञ्चालन गरेको स्थितिमा त्यसले जीवित, गतिवान्, अस्तित्ववान्, रूपान्तरण र विकास गर्छ । समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष चलिरहन्छ । त्यसको प्रतिबिम्बन पार्टीमा भइरहन्छ । क्रान्तिकारी पार्टीमा शत्रुतापूर्ण होइन, मैत्रीपूर्ण अन्तरसङ्घर्ष सञ्चालन गर्दा सामन्तवादी र अराजकतावादी चिन्तन, प्रवृत्तिका विरुद्ध एकता–सङ्घर्ष–रूपान्तरणलाई मुख्य आधार बनाउनुपर्छ ।

    आफ्नो मतलाई मात्र अन्तिम सत्य ठान्ने, विपरीत मतलाई मास्न खोज्ने, एकतामा मात्र जोड गर्ने, सङ्घर्षलाई निषेध गर्ने र रूपान्तरणको उद्देश्य नराख्दा पार्टी र क्रान्तिमा क्षति पुग्दछ । वस्तुहरूमा अन्तरविरोधको नियम, मूलतः विपरीत तत्वहरूको एकताको नियम प्रकृति, समाज र चिन्तनको आधार नियमलाई कम्युनिस्ट पार्टी र क्रान्तिमा सही प्रयोगको संश्लेषण गरेको छ । सबै मुलुकको कम्युनिस्ट आन्दोलनका अनुभव, शिक्षा र क्रान्तिकारी सिद्धान्तलाई आत्मसाथ गरेको छ । वैज्ञानिक समाजवादी क्रान्तिले नेपाली क्रान्तिको कार्यदिशामा देखापरेको समस्या समाधान गर्दै सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्षलगायत विषयहरू सुस्पष्ट गरेको छ । यसको मूल लक्ष्य लेनिनले ‘एउटा यस्तो क्रान्तिकारी सिद्धान्त जसले सबै समाजवादीहरूलाई एकताबद्ध पार्दछ, जसबाट उनीहरूले आफ्ना सबै विश्वासहरू प्राप्त गर्दछन् र जसलाई उनीहरूले आफ्नो सङ्घर्षका तरिकाहरूमा र कार्य साधनमा प्रयोग गर्छन् । यस्तो सिद्धान्त नभईकन कुनै बलियो समाजवादी पार्टी बन्न सक्दैन’ (लेनिन, भाग ४, पृष्ठ २२१) मा भनेझैँ वैज्ञानिक समाजवादी क्रान्तिले दलाल पुँजीवादी, नवसंशोधनवादी र संसद्वादीबाहेक करोडौँ आमजनतालाई एकताबद्ध गर्दै विजय हासिल गर्नेछ । अन्त्यमा लेनिनको ‘… छानबिन सिद्धान्तबाट सुरु हुँदैन, बरु सिद्धान्त छानबिनका अन्तिम परिणाम हुन्छन् । सिद्धान्त प्रकृति तथा मानव इतिहासमाथि लागू गरिँदैनन्, बरु तिनीहरूबाट निकालिन्छन् । प्रकृति र मानव जाति सिद्धान्तहरूअनुरूप हँुदैनन् । यसको विपरीत सिद्धान्त त्यही हदसम्म प्रामाणिक हुन्छ जुन हदसम्म ती प्रकृति तथा इतिहासअनुरूप हुन्छन्’ (भौतिकवाद र अनुभवसिद्ध आलोचना) मा उल्लेख गर्नुभएको सारगर्वित भनाइलाई आत्मसाथ गरेको छ ।

    अन्तरविरोधहरूको विश्लेषण र संश्लेषण
    ऐतिहासिक विशेष राष्ट्रिय भेलाले अन्तर्राष्ट्रिय रूपमा विभित्र साम्राज्यवादी देशहरूका बीचमा अन्तरसाम्राज्यवादी अन्तरविरोध, साम्राज्यवादी देशहरू र उत्पीडित राष्ट्रहरूबीचको अन्तरविरोध, साम्राज्यवाद र विश्वका उत्पीडित जनताका बीचको अन्तरविरोध, साम्राज्यवादी देशहरूमा एकाधिकार पुँजीपति र कम्युनिस्ट (बुर्जुवा र सर्वहारा) बीचको अन्तरविरोध र पुँजीवाद र समाजवादी सत्ताका बीचको अन्तरविरोध देखिन्छन् भनेर विश्लेषण एवम् संश्लेषण गरेको छ । राष्ट्रिय रूपमा दलाल पुँजीवादी उत्पादन सम्बन्धले कैयौँ प्रकारका नयाँ अन्तरविरोधहरू पैदा गरेका छन् जसमा आधारभूत रूपमा गरिब किसान र भूमाफियाका बीचको अन्तरविरोध, मजदुर र एकाधिकारवादी दलाल पुँजीवादका बीचको अन्तरविरोध, वैदेशिक व्यापारी र स्थानीय व्यापारीहरूबीचको अन्तरविरोध, दलाल पुँजी र राष्ट्रिय पुँजीबीचको अन्तरविरोध र सम्पूर्ण उत्पीडित नेपाली जनता र दलाल पुँजीवादी सत्ताबीचको अन्तरविरोध प्रमुख रहेका छन् । यसमा समग्र उत्पीडित नेपाली जनता र दलाल पुँजीवादी सत्ताबीचको अन्तरविरोध प्रधान अन्तरविरोध हो । यी आधारभूत अन्तरविरोधहरूको समाधान नयाँ जनवादी कार्यभार पूरा गर्दै समाजको आमूल रूपान्तरण गर्ने वैज्ञानिक समाजवादी क्रान्तिले मात्र गर्न सक्छ भनेर विश्लेषण एवम् संश्लेषण गरेको छ ।

    रणनीति र कार्यनीति
    रणनीति भनेको निश्चित उद्देश्य पूरा गर्न अपनाइने युक्ति हो । रणनीति भनेको मुख्य मुद्दा सम्बोधन गर्ने योजना, योजनाबद्ध कार्य, रणनीतिक ढाँचाअनुसार कार्यहरूको मूल उद्देश्य हो । कला र निर्देशनहरूको विभिन्न चरणहरूलाई ध्यानमा राखेर दीर्घकालीन उद्देश्य एवम् विजय हासिल गर्न माध्यम एवम् ढाँचा गरिएको बृहत् कार्ययोजना पनि रणनीति हो । यसले नै पार्टी सङ्गठनको दीर्घकालीन दिशानिर्देश र भविष्य प्रस्तुत पनि गर्दछ । स्टालिनले ‘रणनीतिको सबभन्दा महत्वपूर्ण काम त्यस्तो मुख्य दिशालाई निर्धारण गर्नु हो, जुन दिशा मजदुरवर्गीय आन्दोलनले लिनुपर्छ र जुन दिशामा सर्वहारा वर्गले कार्यक्रममा प्रतिपादित उद्देश्य हासिल गर्नका लागि अत्यधिक फाइदाजनक ढङ्गबाट आफ्नो शत्रुमाथि मुख्य प्रहार गर्न सक्नेछ । रणनीतिक योजना भनेको जुन दिशामा प्रहार गर्दा त्यसले अधिकतम् परिणाम प्राप्त गर्न सम्भव छ, त्यस दिशामा निर्णायक प्रहारको सङ्गठन गर्ने योजना हो’ भनेझैँ पार्टीको न्यूनतम् कार्यक्रम एवम् रणनीति जनवादी कार्यभारसहितको वैज्ञानिक समाजवाद हो । अधिकतम् लक्ष्य साम्यवाद नै हो ।

    कार्यनीति भनेको एक रणनीतिको शृङ्खलाको एक वा बढी उद्देश्यहरू प्राप्त गर्न अधिक विशिष्ट उपायहरू हुन् । स्टालिनले ‘कार्यनीति रणनीतिको एउटा हिस्सा हो, त्यो रणनीतिको अधीनस्थ रहन्छ र त्यसले रणनीतिको सेवा गर्छ । कार्यनीतिको एउटा अत्यधिक महत्वपूर्ण काम त्यस्ता तरिका तथा उपायहरू, सङ्घर्षका रूप र तरिकाहरूलाई निर्धारित गर्नु हो, जुन खास क्षणको ठोस परिस्थितिमा अत्यधिक उपयुक्त हुन्छन् र जसले निश्चित रूपबाट रणनीतिक सफलताका लागि बाटो बनाइदिन्छन् ।’ भनेझैँ हाम्रो पार्टीको कार्यनीति स्वाधीन संयुक्त सरकार संश्लेषण गरेको छ । यसको कार्यनीतिक कार्यक्रम– राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुनेछ । आज संसद्वादी चुनाव कार्यनीति मात्र होइन, बरु रणनीतिक महत्वको कार्यनीति बनेको छ । ‘स्थानीय चुनावलाई प्रयोग गर्ने’ कार्यनीतिले रणनीतिको सेवा गर्ने होइन, गला रेटेको छ ।

    कार्यदिशा
    विश्वदृष्टिकोण, नेतृत्व र कार्यदिशाबीच अभिन्न सम्बन्ध हुन्छ । क्रान्तिको कार्यदिशामा राजनीतिक, फौजी र साङ्गठनिक सबै पक्षहरू पर्दछन् । समग्र कार्यदिशामा क्रान्तिको मार्ग, रणनीति, कार्यनीति, लक्ष्य, कार्यक्रम, सङ्गठन, सङ्घर्षका रूप, कार्ययोजना र नारा पर्दछन् । कार्यदिशा कुनै पनि राजनीतिक पार्टीको विचार, दृष्टिकोण, निश्चित उद्देश्य एवम् लक्ष्यसँग सम्बन्धित हुन्छ । यो काम र गतिविधिको मूल मार्ग र दिशा हो । यो वैज्ञानिक नीतिहरूको शृङ्खला र राजनीतिको मार्गचित्र पनि हो । कार्यदिशामा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सामरिक आदि सबै ठोस चित्रको विश्लेषण गरिएको हुन्छ । यसले तत्कालीन कार्यनीति, कार्यक्रम तथा कार्ययोजनालाई नेतृत्व गर्दछ ।

    कार्यदिशाको मार्गदर्शनबाट नै दृष्टिकोण, पक्षधरता र प्रवृत्ति अभिव्यक्त हुन्छ । कार्यदिशाले नै क्रान्तिको ढोका खोल्दछ र त्यसै मार्गमा क्रान्ति अघि बढ्छ । परन्तु कार्यदिशाले आन्दोलन सङ्गठित गर्ने, ठोस दिशा स्पष्ट गर्ने, सङ्गठन र आन्दोलनलाई नेतृत्व प्रदान गर्दछ । कार्यदिशाले सङ्गठनको आत्मगत तथा वस्तुगत स्थितिको विश्लेषण गरी लक्ष्य प्राप्तिका लागि विधि, पद्धति र प्रक्रिया निर्धारण पनि गर्दछ । त्यसको अभिव्यक्ति ठोस कार्ययोजना, व्यावहारिक कार्यान्वयन र कुशल कार्यशैलीमा हुन्छ । कार्यदिशाको निर्माण देशको वस्तुगत खासगरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय परिस्थितिको समेत विश्लेषणका आधारमा निर्माण हुन्छ । कार्यदिशामा मुलुकको वस्तुस्थिति मूलतः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत मुख्य अन्तरविरोधहरू प्रतिबिम्बित हुन्छन् । वस्तुगत आधारमा निर्माण हुने कार्यदिशाले नै सबै अन्तरविरोधहरूको समाधान र राज्यसत्तामा आमूल परिवर्तनलाई सुनिश्चित गर्दछ । पार्टीको विशेष राष्ट्रिय भेलाले वैज्ञानिक समाजवादी क्रान्ति कार्यदिशा संश्लेषण गरेको छ ।

    जनवादी केन्द्रीयताको सही प्रयोग
    विशेष राष्ट्रिय भेलामा प्रतिनिधिहरूलाई १५ समूहमा विभाजन गरी उच्च जनवादको प्रयोगमा बहस गरिएको थियो । आयोजक समितिका सदस्यहरू र प्रतिनिधिहरूको समूहबाट चुनिएका प्रतिनिधिहरूको बहसपछि राजनीतिक प्रतिवेदन एक मतले पारित गरिएको छ । जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टी र क्रान्तिकारी सङ्गठनलाई हेरफेर र सञ्चालन गर्ने सङ्गठनात्मक सिद्धान्त र आधार हो । दुई विपरीत प्रवर्ग जनवाद र केन्द्रीयताको सम्मिश्रण जनवादी केन्द्रीयता हो । सङ्गठनमा मतहरू दर्ता गर्न पाउने, कमजोरीहरूको आलोचना गर्न पाउने, भेला–सम्मेलनहरूमा चुन्न र चुनिन पाउने हरेक सदस्यहरूको अधिकार एवम् स्वतन्त्रता जनवाद हो । जनवादको व्यापक अभ्यासको जगमा खडा भएको आवश्यकताको अभिव्यक्ति केन्द्रीयता हो । उच्च जनवादको जगमा निर्मित नीति र योजनालाई एकताबद्ध भएर लागू गर्ने तत्परता अनुशासन एवम् केन्द्रीयता हो ।

    अभिव्यक्ति र छलफलमा स्वतन्त्रता र कार्यान्वयनमा एकरूपता जनवादी केन्द्रीयताको मुख्य सार हो । जनवादी केन्द्रीयताको सही प्रयोग जनवाद र केन्द्रीयता दुवै वर्गसापेक्ष हुन्छन् । अति स्वतन्त्रता र थुपारिएको अनुशासन दुवैले अराजकता र नोकरशाहीपन पैदा गर्छ । सिर्जनात्मक काममा सक्रियताको ठोस अभिव्यक्तिका रूपमा स्वतन्त्रता स्वेच्छिक तथा अनुशासन आवश्यक हुन्छ । जनवाद र केन्द्रीयताको अन्तरसम्बन्ध परस्पर र परिपूरक हुन्छ । त्यसको प्रयोग पृथक ढङ्गले हुन सक्दैन । यी दुवै एक सिक्काका दुई पाटा हुन् । जनवाद र केन्द्रीयता सबै स्थितिमा समान रूपले पनि लागू हुन सक्दैनन् । नीति र योजना निर्माणमा (महाधिवेशन, भेला, सम्मेलन र बैठकमा) जनवादको भूमिका मुख्य हुन्छ । व्यापक जनवादको प्रयोगद्वारा निर्मित नीति र योजना कार्यान्वयनमा केन्द्रीयता मुख्य हुन्छ । जनवादी केन्द्रीयताको गलत प्रयोग भएमा पार्टी सङ्गठन कि अराजकहरूको भीड हुन्छ, कि त नोकरशाही संस्थामा परिणत हुन पुग्छ । जनवाद कार्यकर्ताहरूले र केन्द्रीयता नेताहरूले मात्र प्रयोग गर्ने हतियार होइन । जनवादी केन्द्रीयताका चार नियम व्यक्ति सङ्गठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्लो समिति माथिल्लो समितिको मातहतमा र सबै समिति र सदस्य केन्द्रीय समिति र महाधिवेशनको मातहत भन्ने सार्वभौम मान्यतालाई आत्मसाथ गर्न जरुरी छ ।

    पार्टीको पुनर्गठन
    नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पुनर्गठन क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र वैज्ञानिक समाजवादी क्रान्तिलाई गुणात्मक गति दिनका खातिर एक ऐतिहासिक कदम हो । यो विसर्जनवाद, संसदीय संशोधनवाद, अवसरवादमाथिको सैद्धान्तिक एवम् राजनीतिक विजय हो । यो असफल एवम् बदनाम संसद्वादको पुनरावृत्त पागलपन र महापतनका विरुद्ध सम्बन्धविच्छेद मात्र नभएर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र नयाँ आधारमा पुनर्सङ्गठित गर्ने विद्रोह हो । वैचारिक श्रेष्ठताका आधारमा उक्त भेलाले नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पुनर्गठन गरेको छ । यसको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुनेछ । विशेष राष्ट्रिय भेलाको अध्यक्षमण्डलको निर्देशनबमोजिम आयोजक समितिका सदस्य क. सुदर्शनले राखेको ८१ सदस्यीय नवौँ महाधिवेशन आयोजक समितिको प्रस्ताव एकमतले पारित गरेको छ । तुरुन्तै उक्त समितिको बैठकले क. कञ्चनलाई संयोजक चयन गरेको छ । आजको दुनियाँमा सगरमाथाको भूमिबाट अन्तिम र कठिन बाटोमा खडा भएर नेतृत्वले लिएको ऐतिहासिक पहलकदमी विश्वका श्रमजीवी वर्ग तथा उत्पीडित जनताका लागि असीमित गौरव र खुसी हो ।

    नेतृत्वको प्रश्न
    नेतृत्वको जन्म आमाको कोखबाट होइन, वर्गसङ्घर्षको भट्टीबाट हुन्छ । क्रान्ति नेताविशेषको मनोगत चाहना एवम् लहडमा हुँदैन । ‘एक वास्तविक एवम् गम्भीर क्रान्ति माक्र्सको शब्दमा भन्ने हो भने जनक्रान्ति, एक आश्चर्यजनक रूपले जटिल एवम् कष्टदायी प्रक्रिया हो जसमा पुरानो सामाजिक व्यवस्था नष्ट हुन्छ र एक नयाँ सामाजिक व्यवस्था, लाखौँ–करोडौँ मानिसहरूका लागि एक नयाँ जीवनव्यवस्थाको अभ्युदय हुन्छ ।’ लेनिनले १ अक्टोबर, १९१७ मा (के बोल्सेबिकहरू राज्यसत्ता थाम्न सक्छन् ? लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ३४, पृष्ठ २८७–३३९) मा भनेझैँ दलाल पुँजीवादी संसदीय व्यवस्थाको नरकबाट मुलुक र आमजनतालाई मुक्त गर्ने समाजवादी क्रान्ति नयाँ जनमार्ग हो ।

    नेतृत्व अग्रगामी विचार, योजना र परिचालनको योग हो । नेतृत्व विचार, राजनीतिक सङ्गठन र सङ्घर्षको समुच्च योग भए पनि विचार र राजनीति मुख्य पक्ष हो । नेतृत्वको प्राण क्रान्तिकारी नीति भएकाले नीति निर्माता, सङ्गठनको मस्तिष्क र समग्र आन्दोलनको कुञ्जी हो । नेतृत्व क्रान्तिकारी विचार र सामूहिकताको केन्द्रीकृत अभिव्यक्ति हो । नेतृत्व पार्टी र समितिभन्दा माथि हुँदैन । नेतृत्व वैचारिक रूपले विश्लेषण र संश्लेषणको गतिशीलता, राजनीतिक रूपमा योजना, रणनीति र कार्यनीतिको निर्धारक, सङ्गठनात्मक रूपमा शक्तिको समुचित विन्यास, केन्द्रीकरण र विकेन्द्रीकरण, सामरिक रूपमा आक्रमण र रक्षा, आर्थिक रूपमा कुशल व्यवस्थापक र सांस्कृतिक रूपमा नमुना आदर्श हो । नेतृत्वले क्रान्तिकारी विचारलाई नीति र योजनामा अभिव्यक्त र त्यसको कार्यान्वयनमा कार्यकर्ता एवम् जनपरिचालन गर्छ । तसर्थ पार्टी सङ्गठनमा नेतृत्वको मुख्य भूमिका हुन्छ । क्रान्तिकारी नेतृत्वको जन्म कसरी हुन्छ भन्नेबारेमा एङ्गेल्स भन्नुहुन्छ, ‘ऐतिहासिक आवश्यकताले नेतृत्वलाई जन्माउँछ तर कुन व्यक्तिविशेषमा त्यो मूर्तीकृत हुन्छ भन्नेचाहिँ विशुद्ध आकस्मिकतामा हुन्छ ।’ नेतृत्वको विकास विचारधारात्मक सङ्घर्ष, वर्गसङ्घर्ष र दुई लाइन सङ्घर्षबाट हुन्छ । नेता बन्ने र नेतृत्व गर्ने फरक कुरा हो ।

    सामान्यतः क्षमता नभएको कुनै व्यक्ति हुँदैन तर खास (विशिष्ट) क्षमता केही व्यक्तिमा मात्र हुन्छ । नेतृत्व गर्नु भनेको आम र विशिष्ट नीतिहरू निर्माण गर्नु मात्र होइन, भौतिकवादी द्वन्द्ववादको प्रयोग, विचार र सिद्धान्तलाई जनदिशा, जनवादी केन्द्रीयता तथा सही कार्यपद्धतिहरूको निर्धारण र लागू गर्नु हो । नेतृत्व कार्यकर्ता र जनतासँग अविभाज्य जोडिएको हुन्छ । नेतृत्वका बारेमा आँखामा पट्टी बाँधेर समर्थन र विरोध गर्नु अर्थात् अतिरञ्जना र अवमूल्यन गर्नु दुवै गलत तरिका हुन् । नेतृत्वको वैचारिक र भौतिक सुरक्षा आवश्यक हुन्छ । हरेक वस्तु एकको दुईमा विभाजनको सार्वभौम नियम नेतृत्वमा पनि लागू हुन्छ । वैचारिक र भौतिक पक्षमा वैचारिक पक्षलाई मुख्य बनाउने, आन्तरिक अन्तरसङ्घर्ष र बाह्य वर्गसङ्घर्षको तरिकाद्वारा नेतृत्व रक्षाको समस्या हल गरिनुपर्दछ । नेतृत्वको नीति, योजना निर्माण र कार्यपद्धति निर्धारणमा मुख्य भूमिका हुन्छ । नेतृत्वले सङ्गठनमा विभिन्न क्षमता, स्वभाव र प्रवृत्तिका कार्यकर्ताहरूलाई सामूहिक विचारमा एकता पैदा गर्नुपर्छ । व्यापक दृष्टि पु¥याएर सबै कार्यकर्ताको विशिष्ट अध्ययन गरी उचित जिम्मेवारी दिनुपर्छ । कार्यकर्ताहरूको आवश्यकता, क्षमता र रुचिलाई ध्यान दिएर सम्बन्धित क्षेत्र र विभागीय जिम्मेवारी दिने र कार्यकर्ताहरूलाई श्रेणीकरण र हरेक दृष्टिले पहिचान गरी जिम्मेवारी र अवसर प्रदान गर्दै परिचालन गर्ने भूमिका हुन्छ ।

    निष्कर्ष
    ऐतिहासिक विशेष राष्ट्रिय भेला र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पुनर्गठन क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र वैज्ञानिक समाजवादी क्रान्तिलाई गुणात्मक गति दिनका खातिर एक ऐतिहासिक कदम हो । यो विसर्जनवाद, संसदीय संशोधनवाद, अवसरवादमाथिको सैद्धान्तिक एवम् राजनीतिक विजय हो । यो संसदीय संशोधनवादका विरुद्ध सम्बन्धविच्छेद मात्र नभएर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र नयाँ आधारमा पुनर्सङ्गठित गर्ने विद्रोह हो । ऐतिहासिक विशेष राष्ट्रिय भेलाले पार्टीको न्यूनतम् कार्यक्रम एवम् रणनीति जनवादी कार्यभारसहितको वैज्ञानिक समाजवाद, वैज्ञानिक समाजवादी क्रान्ति कार्यदिशा र कार्यनीति स्वाधीन संयुक्त सरकार संश्लेषण गरेको छ । ५ नोभेम्बर, १९२१ को अहिले र समाजवादको पूर्ण विजयपछि सुनको महत्व लेखमा लेनिनले उल्लेख गर्नुभएको छ ‘क्रान्ति– भनेको त्यस्तो परिवर्तन हो जसले पुरानोलाई आधारभूत रूपमा जरैदेखि उखेलेर फालिदिन्छ र सावधानीसाथ बिस्तारै, अलिअलि गरेर सकेसम्म कम क्षति होस् भन्ने दृष्टिकोणले पुनर्निर्माण गरिरहँदैन । राजनीतिमा ‘सब कुरा चाखिसकेका छन्’ मिथ्यावादी, धोखाबाजी र केटाकेटीपनको प्रदर्शन गर्नेहरूले, वास्तविक परीक्षा पास गरी नसकेकाहरूले, क्रान्तिलाई दैविक रूप दिनेहरूले क्रान्ति शब्दलाई ठूलाठूला अक्षरले लेख्न थालेका थिए ।’ (लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ४४, पृष्ठ २२१–२२९) मा अवसरवादी पात्र र प्रवृत्तिको पर्दाफास गर्नुभएको थियो ।

    संयुक्त सरकारका विषयमा (२४ अप्रिल, १९४५) मा महान् माओले ‘हामी आफ्नो पार्टीका सबै शक्तिलाई सङ्गठन र अनुशासनका जनतान्त्रिक केन्द्रीयतावादी सिद्धान्तहरूमा दृढतापूर्वक एकगठ पार्नेछौँ । पार्टीका कार्यक्रम, विधान र निर्णयहरूलाई मान्ने जुनसुकै कमरेडसित पनि एकता गर्नेछौँ’ भनेझैँ विशेष राष्ट्रिय भेलाले क्रान्तिकारी रूपान्तरण एवम् बृहत् कम्युनिस्ट एकतामा जोड दिएको छ । क्रान्तिकारी कम्युनिस्टहरूबीच आपसी संवाद, संयुक्त कार्यक्रम, संयुक्त मोर्चा निर्माण, पार्टी एकताका लागि पहलकदमी लिई बृहत् क्रान्तिकारी कम्युनिस्ट एकता गर्न निर्देशन गरेको छ । विशेष राष्ट्रिय भेलाले इतिहासका निर्माता जनताप्रति सम्पूर्ण रूपले समर्पित भएर वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा निरन्तर अघि बढ्ने निर्णय गरेको छ । सबैखाले अवसरवाद, संशोधनवाद र साम्राज्यवादका विरुद्ध निरन्तर क्रान्ति गर्ने सङ्कल्प गरेको छ । जनतामाथि फेरि पनि धोका नहोस् भन्नका लागि जनतासामु आठबुँदे प्रतिबद्धता गरेको छ । साथै सातबुँदे समसामयिक प्रस्तावद्वारा माग, आह्वान, दृढता र ऐक्यबद्धता व्यक्त गरेको छ ।
    १७ जेठ, २०७९

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ