पछिल्लो समय सामाजिक सञ्जालमा ‘अल अबाउट डिवी स्किन’ मा भाग १ देखि भाग २० सम्मका टिकटिक भिडियो पोस्ट गरेर एकजना बलात्कार पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममाथि आफूमाथि बलात्कार भएको घटना सुनाएपछि यसले निकै चर्चा बटुलिरहेको छ ।
पीडितको पक्षमा उभिएको जन लहरले यस्तै अर्की पीडितले आफूले भोग्नुपरेको हिंसाबारे मुख खोल्न बल प्रदान गरेको छ । आइतबार बिहान पीडितको फेसबुक अकाउन्टमा बलात्कारको बेलिबिस्तार लगाइएको पोस्ट सार्वजनिक गरिएको छ । जसमा उनले २०७२–७३ को समयमा उनीमाथि भएको हिंसाको जिकिर गरिएको छ ।
यसमा पीडितले आफू इटहरीको ब्लुमिङ लोटस इङ्गलिस स्कूलमा पढिरहेका बेला विद्यालयका प्रधानाध्यापकले उनीमाथि बलात्कार गरेको बताएकी छिन् । उनले प्रधानाध्यापकको नाम राज खड्का भएको जानकारी दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यतिबेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको ९ प्रिन्सिपल० खातामा पैसा पठाउनुभयो ।’ आमाको खातामा पैसा नपठाएको कारणबारे उनले पछि जानकारी दिने बताएकी छिन् ।
उनी थप्छिन्, ‘त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो । प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लगे । उसले मलाई केहि खान भन्यो तर मैले मानिनँ । म डराईरहेकी थिएँ र म असिन पसिन भएकी थिएँ । उसले मलाई ूयता आउ यहाँ गर्मी हुँदैनू भन्दै कोठा तिर जान भन्यो । त्यतिबेला म १५ वर्षकी थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो । मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरि पनि मानिनँ । त्यसपछि उसले मेरो स्कूलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो ।’
‘उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याकमेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो। यो क्रम मेरो एसइइ सम्म दुई बर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्यो,’ उनले आफ्नो पोस्टमा लेखेकी छिन् ।
यसमा साथै पीडकले उनलाई बिदामा पनि घर जान नदिने, घर जाँदा पढाई बिग्रन्छ भनेर उनले पिडितका आमा–बुवालाई गलत विश्वास दिलाएको उनले बताइन् । यही विश्वासका कारण नै उनका बुवाले प्रधानाध्यापकको खातामा पैसा पठाउने गरेको उनले भनिन् ।
‘मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधै होस्टेलमै बस्न दिनु, मेरो आमा स्कुलबाट ५ मिनेट टाढा बस्नु र पनि मलाई प्रिन्सिपललाई अस्पताल लैजान दिनु , यी सब फिल्मी जस्तो सुनिन्छ नि होइन र तर यो मेरो जीवनको वास्तविक कथा हो ।’ उनले भनेकी छिन् ।
आफूमाथिको हिंसाबारे उनले आफ्ना साथीहरुलाई भन्दा उल्टै उनीमाथि आक्षेप लगाएर कसैले पनि नपत्याएको उनले जानकारी दिइन् । उनले यसबारे प्रधानाध्यापककी श्रीमतीलाई पनि भनेको तर उनले पनि केही नभनेको भन्दै दुःख व्यक्त गरिन् । उनले दुई वर्ष भित्र विद्यालयमा नै आत्महत्या गर्ने असफल प्रयास पनि गरेको बताइन् ।
एसइइ सकिएपछि भने उनले यसबारे आफ्नो परिवारलाई भन्ने हिम्मत जुटाएको बताइन् । तर उनले न्याय पाइनन् । उनका अनुसार आरोपी फरार भए । उनको मुद्दा अझै चलिरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘जब म फलोअप गर्थें, प्रहरीले कहिले बलात्कारीलाई खोज्दैछौ भन्छ। ७ बर्ष भैसक्यो तर बलात्कारी कहाँ छ र अन्तिममा मैले न्याय पाउने आशा गुमाए र प्रहरीलाई फलो अप गर्न छोडें, तर जब सामाजिक सञ्जालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छ र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु ।’
उनका अनुसार आरोपी काठमाडौँकै एउटा विद्यालयमा प्रधानाध्यापक नै भएर काम गरिरहेका छन् ।
प्रतिक्रिया