• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय रोचक-विचित्र

    विमानचालक आकाशमै अचानक बेहोस भएपछि यात्रुले गरे सुरक्षित अवतरण

    2.3K
    SHARES


    एजेन्सी । अमेरिकाको फ्लोरिडाका सञ्चारमाध्यमले उडानकै क्रममा चालक बेहोस भएपछि विमान अवतरण गराएका एक जना यात्रुको खोजी गरिरहेका छन्।

    सार्वजनिक भएका उडान रेकर्डिङहरूमा विमानस्थल टावरसँग आफूलाई “विमान कसरी रोक्नेबारे केही थाहा नभएको” भन्ने एक अपरिचित व्यक्तिको आवाज सुनिन्छ।

    नयाँ पाइलटलाई तालिम दिने एअर ट्राफिक कन्ट्रोलरले पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराउने तरिकाबारे मङ्गलवार मध्यान्ह ती यात्रुलाई सिकाउँछन्।

    विमान सकुशल अवतरण भएपछि ती एअर ट्राफिक कन्ट्रोलर र यात्रुले धावनमार्गको छेउमा अँगालो मार्छन्। तर एक अर्काको नाम सोध्दैनन्। “यहाँ जटिल अवस्था आयो। मेरो पाइलटले होस गुमाए,” करिब ९,००० फिटको उचाइमा आकाशबाट ती मानिसले बोलिरहेको सुनिन्छ।

    “उनी होसमा छैनन्।” उनी कहाँ छन् भन्नेबारे सोधिँदा ती व्यक्तिले “मलाई केही पनि थाहा छैन” भनेका थिए। उनले आफ्नो अघि फ्लोरिडाको तट देखिएको बताएका थिए।

    “जहाजको पखेटाको सन्तुलन मिलाउनु र उत्तर वा दक्षिण तर्फबाट तटतिरै जानु। हामी तिमी भएको ठाउँ पत्ता लगाउने प्रयास गरिरहेका छौँ,” ती हवाई ट्राफिक नियन्त्रकले भन्छन्।

    “मैले मेरो नेभिगेसन स्क्रिन पनि खोल्न सकिरहेको छैन। त्यसमा सबै जानकारी हुन्थ्यो। तिमीहरूलाई त्यसबारे केही जानकारी छ,” उनले एउटा विन्दुमा भनेका छन्। “मलाई कसरी विमान रोक्ने भन्ने पनि थाहा छैन। मलाई केही गर्न आउँदैन,” विमान चलाइरहेका ती यात्रुले भनेको सुनिन्छ।

    पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलका एअर ट्राफिक नियन्त्रक रोबर्ट मोर्गन कामबाट आराम लिइरहेका बेला उनका सहकर्मीले उक्त अवस्थाबारे उनलाई जानकारी गराएका थिए।

    लामो समय उडान प्रशिक्षक र दुई दशकभन्दा लामो एअर ट्राफिक नियन्त्रकको अनुभव भएका मोर्गनलाई पनि त्यही मोडलको विमान उडाएको कुनै अनुभव थिएन। उनले ककपिटको नक्सा हेरेर सेस्ना २०८ मोडेलको उक्त विमान अवतरण गराउन ती व्यक्तिलाई सिकाए।

    “मलाई विमान अरू विमानहरू जसरी नै उडिरहेको थाहा थियो। मात्र ती चालकलाई शान्त राख्न र उनलाई धावनमार्गतर्फ विमान सोझ्याएर विमानलाई बिस्तारै जमिनमा अवतरण गराउन सिकाउनु थियो,” मोर्गनले डब्लूपीबीएफ टीभीसँग भनेका छन्।

    रेकर्डिङमा मोर्गनले ती मानिसलाई विमान नियन्त्रण गर्न र निकै सुस्त दरमा विमानको उचाइ कम गर्न सिकाउँदै गरेको सुनिन्छ। “मैले थाहा पाउनुअघि नै उनले ‘म जमिनमा आइसकेँ, अब कसरी यसलाई बन्द गर्ने’ भनेर सोधे,” मोर्गनले भने।

    दुवैजनाबीच धावनमार्गमा भेट भयो र उनीहरूले सेल्फी तस्बिर समेत लिए। तर त्यो खुसीमा मोर्गनले ती व्यक्तिको नाम सुनेनन्। रेडियो रेकर्डिङको अभिलेखमा पनि ती व्यक्तिको नाम छैन।

    “मलाई त्यसपछि रुन मन लाग्यो। किनभने ती व्यक्तिसँगै धेरै आत्मीयता जोडिइसकेको थियो,” मोर्गनले सीएनएनसँग भनेका छन्। “त्यो निकै भावुक क्षण थियो। उनले आफ्नी गर्भवती श्रीमतीलाई भेट्न घर जाने बताएपछि मलाई निकै राम्रो महसुस भयो,” उनले भने।

    “मेरो नजरमा उनी त नायक थिए। मैले मेरो काम मात्रै गरिरहेको थिएँ।” विमान अवतरण भए पनि मोर्गनले ती बहादुर यात्रुको विमानस्थलमा रहेका अन्य विमानचालकको अगाडि प्रशंसा गरिरहेको रेकर्ड भएको आवाजमा सुन्न सकिन्छ।

    “तपाईँहरूले भर्खरै केही यात्रुले विमान अवतरण गराएको देख्नुभएको छ,” विमान उडाउने तयारी गरिरहेका अरू चालकलाई उनले भने। “तिमीले भन्न खोजेको यात्रुले विमान अवतरण गराएको भन्ने हो?” एक जना चालकले उत्तर दिन्छन्।

    “हे भगवान्। ठूलो काम।” सङ्घीय उड्डयन प्रशासनले विमान कनेक्टीकट राज्यमा एक जना निजी व्यक्तिको नाममा दर्ता रहेको जनाएको छ।

    उक्त विमान करिब एक घण्टाअघि बहामसबाट उडेको देखिएको छ। विमान अवतरणलगत्तै चालकलाई अस्पताल पुर्‍याइएको थियो। उनको स्वास्थ्य अवस्था र व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ