गुल्मी । स्थानीय निर्वाचनका लागि प्रचार प्रसारको क्रममा गुल्मीमा माओवादी केन्द्रका नेता नेपाली कांग्रेसका कार्यकर्ताबाट कुटिएका छन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा आइतबार राति कांग्रेस कार्यकर्ता गोपाल थापाको समूहले माओवादी केन्द्र कालिगण्डकीका अध्यक्ष लीलबहादुर केसी ‘संजय’लाई कुटपिट गरेको बताइएको छ ।
कुटपिट गर्ने थापा कालिगण्डकी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा अहिले अध्यक्ष पदका उम्मेदवार बेद बहादुर थापाका भाइ हुन् । अनुहारमा चोट लागेर घाइते भएका केसीको गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मध्य राति करिब १२ बजेतिर समीक्षा बैठक सकेर घरतर्फ फर्कँदै गर्दा थापाले एक्कासी मोटरसाइकलको हेल्मेटले टाउकोमा हानेको केसीले बताएका छन् ।
‘एक्कासी हेल्मेटले टाउकोमा हानेपछि म बेहोस भएर ढलेछु’, उनले भने, ‘त्यसपछि के के भयो मलाई थाहा भएन ।’ केसीको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले भने दुई पक्षबीच सामान्य भनभन भइ धकेल्दा केसीलाई सामान्य चोट लागेको बताएका छन् । दुई पक्ष बसेर समस्याको समाधान गर्न आफूले पहल गर्ने उनको भनाइ छ ।
भट्टराई कालीगण्डकी गाउँपालिकाको नेपाली कांग्रेस निर्वाचन परिचालनमा खटिएका छन्। कालिगण्डकीमा नेकपा एमाले र माओवादीबीच गठबन्धन भएपछि नेपाली कांग्रेस असन्तुष्ट बनेको छ । नेपाली कांग्रेस र जनमोर्चा पनि गठबन्धन गरेर चुनावी मैदानमा छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले गएराति कुटपिट भएको भनेर खबर प्राप्त भएकोले इलाका प्रहरी कार्यालय रिडीको प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया