काठमाडौं । भारोत्तोलनकी खेलाडी सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको बताए ।
प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी शाहले बताए । हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन । प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ ।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनी प्रशिक्षकको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहेकी थिइन् ।
चौधरीले ‘आत्महत्या’ गरेपछि समग्र खेलकुदवृत्त स्तव्ध छ । ६ महिनाअघि नेपाल प्रहरीको जागीर छाडेर बसेकी सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी थिइन् ।
आत्महत्याअघि फेसबुकमा किन शेयर गरिन् त्यो भिडियो ?
सोमबार राति १० बजेर ३ मिनेटमा सञ्जुले आफ्नो फेसबुक एकाउन्टमा एउटा भिडियो सेयर गरेर क्याप्सनमा लेखेकी छन्, ‘मिसिङ यू लभ’ त्यसमा लभ इमोजी पनि राखिएको छ ।
यो भिडियो पाकिस्तानी वेव सिरिज ‘मेरे हमसफर’को हो । यहाँ सिरिजको दुई प्रमुख पात्रबीचको कुराकानीको क्रममा नायिकाले नायकसँग सोध्छिन्– ‘परिवारको दबावमा आएर तिमीले मलाई छोड्न त छोड्दैनौ नि ?’ त्यसपछि भिडियो निरन्तर भए पनि हिन्दी गीतको म्युजिक सुरु हुन्छ ।
यो सिरिजमा नायिकालाई उनको परिवारले मानसिक र शारीरिक तनाव दिएको हुन्छ । उनलाई साथ दिने एकमात्र व्यक्ति उनका श्रीमान हुन्छन् । यसै कथाको वरिपरि त्यो सिरिजको कथा घुमेको छ ।
२२ वर्षीया सञ्जुले ‘मिसिङ यू लभ’ भनेर यो सिरिजको क्लिप फेसबुकमा शेयर गर्नुलाई प्रेम र पारिवारिक तनावका बीच सञ्जुले मृत्युको बाटो रोजेको हो कि भन्ने प्रहरीको आशंका छ ।
प्रतिक्रिया