काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँका रूपमा अर्थाएका छन्। आज एक अपिल जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमनलाई साथ दिन पनि आग्रह गरेका छन्।
‘हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएका छौं,’ उनले भनेका छन्।
प्रचण्डले यथास्थितिमै रूमल्लिन रहर नभएको पनि बताएका छन्। उनले अग्रगमन र प्रतिगमनको यो लडाइँमा माओवादी र गठबन्धनका उम्मेदवारलाई मत दिन पनि आग्रह गरेका छन्।
यसैबीच सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्।
यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् ।
देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए भने प्रचण्डको बास धनगढीको रुबस होटेलमा भएको थियो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने छन् ।
धनगढीमा गठबन्धनबाट काँग्रेस नेता नृपबहादुर वड मेयरमा र माओवादी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार छिन् । उनीहरुलाई मत माग्न शीर्ष नेता धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न लागेका हुन् । धनगढीको चुनावी सभापछि प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम रहेकोछ ।
प्रचण्डले भने धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।
प्रतिक्रिया