काभ्रे । भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ।
भारतीय तीर्थयात्री बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो।
प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। ‘एक बालकसहित पाँच जनाको मृत्यु भएको छ,’ उनले भने, ‘१८ जना घाइते छन्।’
युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। दुर्घटनामा एक यात्रुको अवस्था गम्भीर छ भने १६ जना सामान्य घाइते छन्। ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने।
दुर्घटनामा परेर सिन्धुली कमलामाई नगरपालिका ७ का ३० वर्षका विक्रम श्रेष्ठ, वडा नम्बर ४ का ४५ वर्षका हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षकी प्रमिला नेपाली, रामेछाप खडादेवी गाउँपालिका ८ की ३० वर्षीया सम्झना भुषाल र उनका सात वर्षका छोरा संगीत भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना भारतीय नागरिक घाइते छन्।
प्रतिक्रिया