काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी यतिबेला साथीको विवाहमा सरिक हुनका लागि काठमाडौँमा छन् । सोसल मिडियामा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिङ्क्समा गएको उनको भिडियो यतिबेला चर्चाको केन्द्रमा छ ।
यो भिडियोलाई भाजपाका नेता तथा कार्यकर्ताले व्यापक सेयर गरेर राहुलमाथि निशाना साँधेका छन् । यो भिडियोबारे कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले राहुल गान्धी मित्र देश नेपालमा एक साथी, जो एक पत्रकार पनि हुन्, को विवाहमा सरिक हुनका लागि गएको प्रस्ट पारेका छन् । यसो भन्दै उनले भने, ‘साथी र परिवार हुनु, विवाहमा जानु, हाम्रो संस्कृतिको पनि हिस्सा हो ।’
सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा गएका थिए । यहाँ गएको भिडियोले नेपालका साथै भारतमा पनि चर्चा बटुलेको छ । यो भिडियो सेयर गर्दै भाजपाले कांग्रेस र राहुल गान्धीमाथि हमला गरेका छन् ।
भाजपा प्रवक्ता शहजाद पूनावालाले भने, ‘राहुल गान्धीले के गरिरहेका छन्, यो उनको नीजि मामिला हो । तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ । यसमाथि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्लबमा पार्टी गरिरहेको देखिएका छन् । जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो ।’
पूनावालाले थपे, ‘कांग्रेस पार्टी ध्वस्त भइसकेको छ तर राहुल गान्धीको पार्टी यसरी नै चलिरहनेछ । उनी राजनीतिमा गम्भीर छैनन् । जब उनको पार्टी र देशका जनतालाई उनको आवश्यकता छ, उनी नेपालमा पार्टी गरिरहेका छन् ।’
भारतका केन्द्रीय मन्त्री किरेन रिजिजुले राहुल गान्धीको भिडियो सेयर गर्दै लेखेका छन्, ‘पार्टी, होलिडे, प्लेजर ट्रिप, प्राइभेट फरेन भिजिट आदि अब देशका लागि कुनै नयाँ कुरा होइन ।’
उता भाजपाका अर्का नेता कपिल मिश्राले ट्वीट गर्दै भने, ‘यो राहुल गान्धीको नीजि जीवनको मामिला होइन । राहुल गान्धी कोसँग छन् ? के चीनको एजेन्टसँग छन् ? राहुल गान्धीले सेना विरुद्ध जुन ट्वीट गर्छन् के त्यो चीनको दबाबमा गर्छन् ? प्रश्न त सोधिन्छन्, प्रश्न राहुल गान्धीको मात्रै होइन, देशको हो ।’
यस्तै भाजपाका सोसल मिडिया इन्चार्ज अमित मालवीयले ट्वीट गरे, ‘जब मुम्बईमा हमला भएको थियो, त्यतिबेला राहुल गान्धी नाइटक्लबमा थिए । आज जब उनको पार्टी संकटमा छ, त्यतिबेला पनि उनी नाइटक्लबमा नै छन् । यसमा निरन्तरता छ ।’ हेर्नुहोस भिडियो
प्रतिक्रिया