विनायक । नेपाली काँग्रेसका एक वडा अध्यक्षका उम्मेदवारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्धा दायर गरेको भेटिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलाको लागि अध्यक्षका उम्मेदवार सुरत बहादुर रावलले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक भएको ठहर गर्दै अख्तियारले आरोपपत्र दायर गरेको हो ।
अख्तियारले २०७६ बैशाख ५ गते शिक्षा विकास तथा समन्वय इकाई मंगलसेनलाई पत्र लेखेर रावललाई कारवाही गर्न भनेको थियो ।अख्तियारको बैशाख ४ गतेको निर्णयअनुसार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम रावलविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको पत्रमा उल्लेख गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ को प्रयोजनार्थ जनकारी एवं आवश्वक कारवाही गर्न अख्तियारले पत्रमा भनेको छ ।
रावलले श्री कालिका देवी प्रा.वि.को शिक्षक हुन पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियारले ठहर समेत गरेको छ । रावलले नक्कली प्रमाणपत्र पेश गरेर शिक्षकको रुपमा खाईपाई आएको सेवा सुविधा फिर्ता गर्नुपर्ने, त्यो बराबरको सजाय र जेल सजाय पनि हुन सक्ने बताइएको छ ।
आफूविरुद्ध अख्तियारमा मुद्धा परेको जानकारी भएपछि रावलले शिक्षकबाट राजिनामा दिएर नेपाली काँग्रेसको राजनीतिमा लागेका थिए । उनी अहिले वडा अध्यक्षको उम्मेदवारी दिएका छन् । रावलले उम्मेदवारी दर्ता गराएसँगै काँग्रेसका नेताहरुले पत्र दिँदै अन्य पार्टीका नेताहरुलाई उजुरी दिन सुझाव दिएका थिए ।
यदि उनी विरुद्ध उजुरी परे उम्मेदवारी रद्ध हुने नगरमा उम्मेदवारी दिएका काँग्रेसका एक नेताले उजुरी दिन सुझाव दिएका थिए । तर, अन्य पार्टीका नेताहरु तयार भएनन् ।
काँग्रेसका एक नेताका अनुसार रावलले पार्टीलाई नै गुमराहमा राखेर वडा अध्यक्षको उम्मेदवारी लिएका थिए । उम्मेदवारी वितरणको क्रममा काँग्रेसका एक नगर सदस्यले कुरा उठाएको थिए । तर, त्यो मुद्धा झुटो भएको र आफूले सफाय पाइसकेको रावलले बताएका थिए ।
प्रतिक्रिया