एजेन्सी । भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन् । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
तातो हावा र गर्मीका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको मौसम विभागले आगामी चार/पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ ।
तापक्रम वृद्धिसँगै तातो हावा चल्न थालेपछि भारत सरकारले अलर्ट जारी गरेको छ । ‘लू’ र गर्मीबाट जोगिन राष्ट्रिय कार्य योजनाको निर्देशन पालना गर्न केन्द्र सरकारले आग्रह गरेको छ ।
देशको पश्चिमी, मध्य र उत्तरी क्षेत्रमा तापक्रम अझै बढ्ने अनुमान गरिएको भन्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले ‘लू’ बाट जोगिने सबै उपाय अपनाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो सँगै स्वास्थ्य मन्त्रालयले आउँदो १५ तारिखसम्म ‘लू’ बाट जोगिन आवश्यक उपाय अपनाउन भनेको छ ।
यस्तै, सबै राज्यका स्वास्थ्य केन्द्रमा ‘लू’ सँग सम्बन्धित बिरामीको उपचारका लागि आवश्यक पर्ने औषधिको व्यवस्था गर्न र बिरामीको समयमा नै उपचार गर्न पनि निर्देशन दिइएको छ । यस्तै, स्वास्थ्य केन्द्रमा खानेपानी र बिजुलीको आपूर्तिलाई पनि सुनिश्चित गर्न भनिएको छ ।
यता काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ। मेघ गर्जनसहित पानी परेको हो। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।
प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया