सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। एमालेले अध्यक्ष लिने र माओवादीलाई उपाध्यक्ष छाड्ने गरी चुनावी तालमेल भएपछि एमालेभित्र विरोध भएको छ।
एमाले र माओवादीका तर्फबाट अध्यक्ष र उपाध्यक्षमा भिन्नाभिन्नै उम्मेदवारी दर्ता भइसकेपछि चुनावी तालमेल भएको थियो।
माओवादीलाई उपाध्यक्ष दिने गरी तालमेल गरिएपछि एमालेबाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार रहेकी मञ्जु नेपाल भण्डारीले पार्टी नै परित्याग गरेकी छन्। यहाँ एमालेबाट टपिन्द्रप्रसाद तिमिल्सिना र उपाध्यक्षमा भण्डारीले उम्मेदवारी दिएका थिए। तर पार्टीले भण्डारीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो।
यस्तै माओवादीबाट अध्यक्षमा कृष्णकुमारी कुँवर र उपाध्यक्षमा दुर्गा थापाले उम्मेदवारी दर्ता गरेका थिए। एमालेसँग चुनावी तालमेलपछि माओवादीबाट अध्यक्ष उठेकी कुँवरले उम्मेदवारी फिर्ता लिएकी छन्।
‘२४ वर्ष मेहनत गरेको पार्टी एमालेको सबै जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको छु,’ भण्डारीले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘मेरो सल्लाह र सहमतिबेगर उम्मदेवारी खारेज भएको छ। गठबन्धनको तानाबाना बुनेर मलाई अन्यायमा पारिएको छ।’
यस्तै नेकपा एमालेले आधिकारिक उम्मेदवारबाहेक पार्टीका अन्य उम्मेदवारलाई कारबाही गरेको छ। मकवानपुरका विभिन्न स्थानीय तहमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाहरूलाई एमालेले कारबाही गरेको हो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का विशालराज महत, मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगर वडा नम्बर ११ का अक्कल क्षेत्री, वडा नम्बर १९ का रत्न ब्लोन र रमेश पौडेललाई आइतबार साधारण सदस्य पनि नरहने गरी एमालेले कारबाही गरेको छ।
एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठका अनुसार पार्टीका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट निस्कासन गरिएको हो। उनीहरूलाई उम्मेदवारी फिर्ता लिन समय दिइए पनि अस्वीकार गरेको देखिएकोले कारबाही गर्नुपरेको उनले बताए। उनीहरूले स्थानीय चुनावका लागि विभिन्न पदमा उम्मेदवारी दिएका थिए।
हेटौंडामा बाइपास सडक बनाउनुपर्छ: ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको राजधानी हेटौँडाको सडक नभत्काउने र सडकका लागि बाइपास सडक निर्माण गर्ने बताएका छन्।
हेटौँडामा जिफन्ट मकवानपुरले आइतबार गरेको कार्यक्रममा एसियन हाइवेमा पर्ने सडकखण्डअन्तर्गतको हेटौँडा बजारको बीचमा रहेको सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउनुमा आफ्नो दलले जोड दिएको उनले बताए।
बागमती सरकारले मदन भण्डारी स्वस्थ्य प्रतिष्ठान र हेटौँडा अस्पताललाई अलग गरेर गलत गरेको उनको भनाइ थियो। अध्यक्ष ओलीले ‘हू इज केपी ओली’ भन्नेलाई नेपाली जनताले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मत दिएर देखाइदिने पनि बताए।
प्रतिक्रिया