• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार स्थानीय चुनाव २०७९

    सत्ता गठबन्धनका उम्मेदवार छुट्टाछुट्टै प्रचारमा, बागीहरूले कसे मोर्चाबन्दी

    290
    SHARES


    काठमाडौँ । दलीय सत्ता गठबन्धनको गाँठो क्रमशः खुकुलो हुँदै गएको विराटनगरमा त्यहाँबाट विद्रोह गरेर बाहिरिएकाहरू भने मोर्चाबन्दीमा जुटेका छन्।

    आ-आफ्नो दल त्यागेर स्वतन्त्र रूपमा चुनावी मैदानमा होमिएका मेयर, उपमेयर, वडाध्यक्ष लगायतका उम्मेदवारहरू एउटै चुनाव चिन्ह रोज्नेदेखि एकअर्कालाई सघाउने तहसम्म सहकार्य गरिरहेका छन्।

    पाँच दलीय सत्ता गठबन्धनका दलहरू त्यागेको घोषणा गरेर स्वतन्त्र उम्मेदवारी दिएका उनीहरूलाई महानगरमा भने गठबन्धनकै बागी उम्मेदवार भन्ने गरिएको छ। उनीहरूको बागी उम्मेदवारी गठबन्धनका लागि टाउको दुखाइ बनेको छ।

    महानगरमा सत्तारूढ गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन्। प्रमुख र उप्रमुखमा गठबन्धन भए पनि महानगरको वडामा सबैको छुट्टाछुट्टै उम्मेदवारी छ।

    वडाहरूमा भागबन्डा गर्न कांग्रेस तयार नभएको भन्दै माओवादी , जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलले आ-आफ्ना उम्मेदवार खडा गरेका छन्। हरेक दल अलग्गै चुनावी अभियानमा छन्। यसले गठबन्धनको गाँठो क्रमशः कमजोर बनेको गठबन्धनकै नेताहरूको भनाइ छ।

    ‘हामी सैद्धान्तिक रूपमा गठबन्धनमै छौं तर कांग्रेसले सँगै चुनावी अभियानमा बोलाएको छैन,’ माओवादी केन्द्रका एक नेताले भने, ‘कांग्रेस र जसपाले नखोजे पछि हामी आफैं गएर खोज्ने कुरा पनि भएन।’

    माओवादीका ती नेताले भने जस्तै अवस्था विराटनगरमा छ। गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला चुनावी अभियानमा कांग्रेस कार्यकर्ता मात्रै लिएर हिँडिरहेका छन्।

    प्रतिवद्धता पत्र पनि एक्लै बनाएर सार्वजनिक गरेका छन्। उपमेयर उम्मेदवार रहेका उपेन्द्र यादवपुत्र अमरेन्द्र पनि जसपाको मात्रै सहयोग लिएर घरदैलो अभियानमा छन्। यसरी घरदैलो अभियानमा सहकार्य नगरी अघि बढेका मेयर, उपमेयर र गठबन्धन दलहरूबीच आपसी कुराकानी नभएको नेताहरू बताउँछन्।

    महानगरमा नेकपा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उम्मेदवार छन्। सत्ता गठबन्धनका दलहरूबीच यसरी सहकार्य अभाव रहेका बेला तिनै दलबाट बागी बनेकाहरू सहकार्यमा जुटेका छन्।

    जनता समाजवादी पार्टी त्यागेको घोषणा गरेर मेयर उम्मेदवार बनेका उमेश यादव र माओवादी केन्द्रमा राजीनामा बुझाएर उपमेयरको उम्मेदवार बनेकी नमिता न्यौपानेसहितका स्वतन्त्रहरू एउटै चुनाव चिन्हसहित चुनावी मैदानमा होमिएका छन्। सार्वजनिक रूपमा उनीहरूले मोर्चाबन्दी गरेको घोषणा गरेका त छैनन्। तर, चुनावी अभियान अघि बढ्दै जाँदा उनीहरू सहकार्य गर्ने तहमा पुगेका हुन्।

    ‘स्वतन्त्र उम्मेदवारले कसको सहयोग लिने, कसको नलिने भन्ने हुँदैन,’ मेयर उम्मेदवार उमेश यादव भन्छन्, ‘त्यसैले सबैको सहयोग लिने हो।’ स्वतन्त्रहरूबीच आपसमा सघाउने सहमति भइनसकेको बताउने यादवले त्यो सम्भावना जिवितै रहेको बताए।

    उपमेयर उम्मेदवार नमिता न्यौपानेको पनि उनको भन्दा फरक कुरा छैन। स्वतन्त्र उम्मेदवारी दिँदा जोसँग पनि सहकार्य र सहयोग आदान-प्रदान हुन सक्ने उनको भनाइ छ। स्वतन्त्रबाट उम्मेदवार बनेका उनीहरूले सार्वजनिक रूपमा मोर्चाबन्दी गरेको स्वीकार नगरे पनि उनीहरूबीच चुनावी अभियानमा सहकार्य सुरू भइसकेको छ।

    ‘उहाँहरूले आपसमा सल्लाह गरेरै एउटै चुनाव चिन्ह लालटिन लिनुभएको छ,’ उमेश यादव निकट एक कार्यकर्ताले भने, ‘स्वतन्त्र वडाध्यक्षले पनि त्यही चिन्ह लिनुभएको छ। उहाँहरूले सहकार्य गर्ने निश्चित जस्तै छ।’

    मेयर र उपमेयर उम्मेदवारका रूपमा यादव र न्यौपानेको यो सहकार्य दोस्रो पटक हो। यसअघि २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी (हालको जनता समाजवादी पार्टी) र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार बनेका उमेश यादव र नमिता न्यौपाने एकै गठबन्धनमा थिए।

    त्यसबेला यादवले मसाल र न्यौपानेले गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिँदा यादव तेस्रो र न्यौपाने दोस्रो भएका थिए।

    २०७४ को निर्वाचनमा फरक चुनाव चिन्ह रहेको र मतदातालाई बुझाउन नसक्दा धेरै मत बदर भएकोले पराजित भएको दुबै उम्मेदवारको दावी थियो। महानगरको मेयर र उपमेयरमा १० हजारभन्दा बढी मत बदर भएकोले त्यो मत आफूहरूको भएको उनीहरू बताउँथे।

    संयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दुबै जना एउटै निर्वाचन चिन्ह लिएर मैदानमा उत्रँदैछन्। जनता समाजवादी पार्टीको संघीय परिषद सदस्य रहेका यादवले मेयरको दावी गर्दै आएका थिए। कांग्रेससँग जसपाले उपमेयर लिएर गठबन्धन गर्ने सहमति गरेलगत्तै उनले पार्टी छाडेका थिए।

    नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटी सचिव रहेकी न्यौपानेले भने महानगरमा कांग्रेसले आफूहरूको अस्तित्व स्वीकार नगरेको र वडा तहमा गठबन्धन गर्न तयार नभएकोले कार्यकर्ताकै सुझावमा स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छन्। पार्टी केन्द्रले गठबन्धनको निर्णय गरेकोले पार्टीमै रहेर उम्मेदवार बन्नसक्ने अवस्था नभएपछि सचिवबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएको उनको भनाइ छ।

    गठबन्धनमा आवद्ध दलका नेताहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा अस्वीकार गरेका यादव र न्यौपानेले एउटै चुनाव चिन्ह पाएपछि दुबै उत्साहित बनेका छन्। अघिल्लो पटक गठबन्धन हुँदा चुनाव चिन्ह फरक भएकोले पराजित हुनुपरेको बताउने उनीहरूको स्वतन्त्र उम्मेदवार बन्दा एउटै चुनाव चिन्ह परेको छ।

    अघिल्लो निर्वाचनमा महानगरको मेयरमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मतसहित निर्वाचित हुँदा १४ हजार ९५८ मत प्राप्त गरेका यादव तेस्रो भएका थिए। यस्तै कांग्रेसबाटै इन्दिरा कार्की २० हजार १४६ मतसहित उपमेयरमा विजयी हुँदा दोस्रो बनेकी न्यौपानेले ११ हजार ५ सय २४ मत प्राप्त गरेकी थिइन्।

    स्थानीय तह निर्वाचनको मिति घोषणा अघिदेखि नै मेयरमा उम्मेदवारी दिने तयारीस्वरूप घरदैलो गरिरहेका यादवले गठबन्धनमा सहमति हुनसाथ पार्टी छाडेका थिए। स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका यादवले एउटै चुनाव चिह्न भएका कारण सहकार्य गर्न सजिलो हुने बताए।

    ‘स्वतन्त्र उम्मेदवारले सबैसँग सहकार्य गर्छन्’, उनले भने,‘ चुनाव चिह्न एउटै छ, चुनावमा सहकार्य हुनसक्छ।’ उपमेयरकी उम्मेदवार नमिता न्यौपाने पनि यादवसँग सहकार्यको सम्भावना रहेको बताउँछिन्।

    ‘अघिल्लो पटक उम्मेदवार हुँदा चुनाव चिन्हकै कारण हामीले हारेका थियौं,’ उनले भनिन्, ‘संयोगले स्वतन्त्र भएर उम्मेदवार बन्दा चुनाव चिह्न मिलेको छ तर सहकार्य गर्नेबारे छलफल भएको छैन।’

    विराटनगरको दक्षिण क्षेत्रमा यादवको प्रभाव राम्रो छ। न्यौपानेको विराटनगरको बजार क्षेत्रमा राम्रो प्रभाव छ। उनी नेकपा एमालेनिकट अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै २०६३ सालमा माओवादीमा प्रवेश गरेर सक्रिय छन्। मेयर र उपमेयरका मात्रै होइन, अन्य धेरै स्वतन्त्र उम्मेदवारले पनि लालटिन चिन्ह रोजेर चुनावी मैदानमा उत्रिएका छन्।

    शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महानगरपालिको विभिन्न पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका ४४ मध्ये १७ जनाले ‘लालटिन’ चुनाव चिन्ह लिएका छन्। स्वतन्त्र उम्मेदवार बनेका दुई प्रभावशाली नेताले लालटिन लिएपछि अन्य स्वतन्त्र उम्मेदवार पनि त्यसप्रति आकर्षित भएका थिए। उनीहरूले सल्लाहमै एकै चिन्ह लिएको वडाध्यक्षका एक स्वतन्त्र उम्मेदवारले बताए।

    विराटनगर ९ को वडाअध्यक्षमा उम्मेदवारी दिएका औषधि व्यवसायी देशबन्धु ढकाल, विराटनगर १० को वडाअध्यक्षमा उम्मेदवारी दिएका निवर्तमान वडाध्यक्ष माधवराज वाग्ले, विराटनगर ११ को वडाअध्यक्षमा उम्मेदवारी दिएका सामाजिक अभियन्ता निर्मल तामाङ, विराटनगर ९ को वडासदस्यमा उम्मेदवारी दिएका जतिन ताम्रकारलगायतले लालटिन चुनावचिन्ह रोजेका छन्।

    स्वतन्त्रले एउटै चुनाव रोज्दा मतदातालाई पनि याद गर्न सजिलो हुने भएकाले सल्लाह गरेर एकैखालको चुनाव चिन्ह रोजेको वडा अध्यक्षमा उम्मेदवारी दिएका ढकालले बताए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ