काठमाडौँ । जिम्बावे‘ए’ विरुद्धको टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपालले जिम्बावे ‘ए’सँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ ।
नेपाली टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी रहेका छन् ।
त्यस्तै कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बशीर अहमद, लोकेश बम र भीम सार्की रहेका छन् ।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा जिम्बावे‘ए’ विरुद्ध खेल्ने टी–ट्वान्टी र एकदिवसीय सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल तालिका परिवर्तन भएको जनाएको छ ।
अब नेपाल र जिम्बावे ‘ए’ बीच पहिले टी–ट्वान्टी सिरिज हुनेछ भने एकदिवसीय सिरिज दोस्रोमा हुनेछ । क्यानले टी–ट्वान्टी सिरिजका लागि आज नै टिम घोषणा गर्ने छ । यसअघिको सुरुआतमा एकदिवसीय र त्यसपछि टी–ट्वान्टी हुने तालिका रहेको थियो ।
नेपाल र जिम्बाबे बीचको पहिलो एकदिवसीय आज शनिबार हुने तय थियो । तर, वर्षाको कारण खेल स्थगित भएको थियो । नेपाल र जिम्बावे ‘ए’बीचको पहिलो टी–ट्वान्टी आइतबार हुनेछ ।
प्रतिक्रिया