काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कांग्रेस प्रवेश गर्न चुनौती दिएका छन्। माओवादी केन्द्रले स्थानीय चुनावको घोषणा पत्र ल्याउन नसकेको भन्दै पोखरेलले उक्त चुनौती दिएका हुन्।
‘माओवादी घोषणा पत्र जारी गर्न सक्दैन, पुष्पकमल दाहाल जी, हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्,’ उनले भने, ‘राष्ट्रिय राजनीति अलमल्याउने काम नगर्नुस्।’
वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको पोखरेलले बताए। उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको पोखरेलको भनाई छ।
‘यो निर्वाचन सामान्य निर्वाचन होइन। यो लडाइँ हो,’ उनले भने, ‘यो लडाइँको नेतृत्व एकातिर केपी ओली र अर्कोतिर गठबन्धनकारी शक्ति खडा भएका छन्। यो लडाइँ एमालेले जित्नुपर्छ।’
एमालेले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको वकालत गर्ने भएकाले चुनाव जित्नुपर्ने उनको धारणा छ। एमालेका उम्मेदवारका विषयमा समिक्षा हुन सक्ने भन्दै उनले निर्वाचन सकिएपछि छलफल हुन सक्ने बताए।
एमालेले पोखरा महानगर स्तरीय घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै पोखरेलले घोषणा पत्र अक्षरंश पालना हुने दाबी गरे। कार्यक्रममा बोल्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विगतका मनमुटाव बिर्सेर एकतावद्ध भएर लाग्न आग्रह गरे ।
यता वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल भएको छ ।
रुढ गठबन्धनका दलले केन्द्रदेखि नै चुनावी तालमेल गरी सत्तारुढ दलबाहेकका दलसँगको उम्मेदवारी खारेज हुने सहमति गरिरहेको बेला धुर्कोटमा भने माओवादी केन्द्रले एमालेसँग तालमेल गरेको हो ।
तालमेलपछि निर्वाचन आयोगले तोकेको उम्मेदवारले नाम फिर्ता लिने दिन शुक्रबार दिउँसो ५ बजेसम्म नेकपा एमालेले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएको धुर्कोट गाउँपालिकाकी निर्वाचन अधिकृत मुना पौडेलले बताइन् ।
‘नेकपा एमालेका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका गोपाल कुँवर र माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घमकला पोखरेलले उम्मेदवारी फिर्ता लिनुभएको छ,’ उनले भनिन् । एमालेको टिकट लिएर उम्मेदवारी दिएर फिर्ता लिने कुँवर नेकपा (माओवादी केन्द्र) धुर्कोट गाउँपालिका कमिटीका अध्यक्ष हुन् ।
एमाले–माओवादी गठबन्धन सत्तारुढ गठबन्धनको केन्द्रीय निर्देशनविपरीत हुने देखिएपछि दुवै दलको तर्फबाट उम्मेदवारी दिने तर पछि फिर्ता लिने सहमति भएको थियो । तर एमालेकै आकांक्षीले उम्मदेवारी दिएमा उम्मेदवारी फिर्ता नलिनसक्ने माओवादी पक्षले आशंका व्यक्त गरेपछि विश्वासका लागि एमालेले माओवादी केन्द्रका गाउँकमिटी अध्यक्षलाई नै अध्यक्षको टिकट दिएर उम्मेदवारी दर्ता गर्न लगाएको थियो ।
सहमतिअनुसार गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका अध्यक्ष भुपाल पोखरेल अध्यक्ष र एमालेको तर्फबाट सीता गिरी उपाध्यक्ष पदको उम्मेदवार छन् । त्यस्तै वडा नं. २,३,५,६ र ७ मा नेकपा एमालेका उम्मेदवारहरु क्रमश: बाबुराम खड्का, विष्णु बहादुर थापा, केशव भण्डारी, कृष्णबहादुर नेपाली र लिलाबहादुर खनाल उम्मेदवार छन् ।
ती वडाहरुमा माओवादी केन्द्रले उम्मेदवार उठाएको छैन । त्यस्तै वडा नं. १ र ४ मा माओवादी केन्द्रका क्रमश: चेतमान कुँवर र वीरबहादुर कुँवर उम्मेदवार बनेका छन् । ती दुई वडामा एमालेका उम्मेदवार छैनन् । तर नेकपा (माओवादी केन्द्र) गुल्मीका संयोजक बुद्धि जिसीले भने धुर्कोटमा कसैसँग तालमेल भएको नभई मैत्रीपूर्ण प्रतिस्पर्धा भएको बताए ।
तर नेकपा (एमाले) गुल्मीका अध्यक्ष बालसिं काउछाले भने धुर्कोटमा माओवादीसँग तालमेल भएको बताए । ‘जिल्लामा हामीलाई तालमेल गर्न कुनै समस्या थिएन, तर केन्द्रीय नेतृत्वको निर्देशनको कारण त्यो हुन सकेन,’ उनले भने, ‘धुर्कोटमा पालिका उपाध्यक्ष र सवै वडाध्यक्ष हामीले लिने गरि सहमति भएको छ ।’
दुई दलबीच भएको सहमतिअनुसार पालिका अध्यक्षबाहेक सबै उम्मेदवार सूर्य चिन्हबाटै चुनाव लड्नेछन् भने अध्यक्ष पदका उम्मेदवार पोखरेल भने हसिँया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका छन् ।
गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार गुल्मीमा १२ मध्ये ८ स्थानीय तहमा नेपाली कांग्रेस र ४ स्थानीय तहमा माओवादी केन्द्रले अध्यक्ष वा प्रमुख लिने सहमति भए पनि धुर्कोटमा दुवै दलको दाबी रहेपछि सत्तारुढ गठबन्धन तोडिएको थियो ।
माओवादीका तर्फबाट पालिकाका निवर्तमान अध्यक्ष पोखरेल र नेपाली कांग्रेसका तर्फबाट महेन्द्र भण्डारीले दाबी छाडेका थिएनन् । पार्टीले आ–आफ्ना उम्मेदवारलाई मनाउन प्रयास गरे पनि असफल भएको थियो । धुर्कोटमा २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी तालमेलबाट माओवादीका पोखरेल अध्यक्ष पदमा र कांग्रेसका शिव केसी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
२०७४ मा अध्यक्ष पदका दाबेदार रहेका भण्डारीलाई पार्टीले फिर्ता बोलाएर उपाध्यक्षमा सहमति गरेकोले आफू यसपाली अध्यक्षको दाबेदारी नछाड्ने अडान भण्डारीको थियो । तर आफूले ५ वर्ष गरेका कामको मूल्यांकनका आधारमा पुन: अध्यक्ष दिनुपर्ने दाबी पोखरेलले गरेका थिए ।
प्रतिक्रिया