काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा जथाभावी निर्णय गरेको भन्दै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टको अधिकार खोसेको छ ।
निर्वाचन प्रयोजनका सन्दर्भमा अबदेखि भट्टको हस्ताक्षर नचल्ने गरी माओवादी केन्द्रले उनको अधिकार खोसेको हो ।
माओवादी केन्द्रीय कार्यालयले अबदेखि प्रदेश समिति अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अबदेखि निर्वाचन प्रयोजनका लागि चौधरीको हस्ताक्षर चल्ने निर्णय भएको पुष्टि गरे ।
यसैबीच धुर्कोट गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गर्ने एमालेको धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए । घिमिरेका अनुसार माओवादी केन्द्रले उपाध्यक्षमा एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्नेछ ।
माओवादी केन्द्रका उम्मेदवार पोखरेल ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्षमा कांग्रेसका शिव खत्री निर्वाचित भएका थिए ।
धुर्कोटमा कांग्रेस र एकीकृत समाजवादीको तालमेल भएको छ । जस अनुसार अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाधयक्षमा एकीकृत समाजवादीकी कमला सुनार उम्मेदवार छन् ।
प्रतिक्रिया